चितवन- चितवनमा यो पुस ३० गतेदेखि माघ १४ गतेसम्म “नारायणी एक्सपो २०८२” आयोजना हुँदैछ। रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुरको आयोजनामा हुन लागेको यस एक्सपोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्। करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने पुस २८ गतेसम्म पूर्ण तयारी पूरा हुने बताइएको छ।
यस वर्षको एक्सपोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा व्यवसायिक, औद्योगिक, कृषि, पर्यटन र सेवामूलक क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्। आयोजकका अनुसार स्थानीय उत्पादन, साना–मझौला उद्यम र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न उद्यमी, व्यवसायी र संघ–संस्थाहरूले सक्रिय सहभागिता जनाउनेछन्।
आकर्षक थिम–सेटअपहरू पनि यस एक्सपोको विशेषता हुनेछन्। लन्डन सिटी (ब्रिजसहित), पेरिस सिटी (एफिल टावरसहित), स्ट्याचु अफ लिबर्टी र काश्मिर भ्याली जस्ता विश्वप्रसिद्ध स्थलहरूको अवलोकन एउटै स्थानमा गर्न सकिनेछ। यी दृश्यहरू फोटो र सामाजिक सञ्जाल सामग्रीको लागि विशेष आकर्षणको केन्द्र बन्ने छन्।
खानपानमा पनि एक्सपोले विविध स्वाद ल्याएको छ। नेपाली, भारतीय, चिनियाँ, कोरियन फ्युजनसहित अन्तर्राष्ट्रिय स्वादका परिकार फुड कोर्ट र व्यवस्थित रेष्टुरेन्टहरूमा उपलब्ध हुनेछन्।
एक्सपोको सुरक्षा र व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। स्वच्छता, पार्किङ, सुरक्षित वातावरण र दर्शकहरूको सहज आवागमन सुनिश्चित गर्न स्वयंसेवक, सुरक्षाकर्मी र व्यवस्थापन टोली परिचालन हुनेछन्।
प्रवेश शुल्क सामान्य दर्शकका लागि रु १००, विद्यार्थीका लागि रु ७० र अपाङ्ग व्यक्तिहरूका लागि निःशुल्क राखिएको छ। आयोजकले आशा गरेका छन् कि चितवन र छिमेकी जिल्लाका करिब १ लाख दर्शक एक्सपो अवलोकन गर्नेछन्।
नारायणी एक्सपो केवल व्यापारिक मेला मात्र नभई कृषि, पर्यटन, संस्कृति र नवप्रवर्तनको प्रवर्द्धन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। एक्सपो अवधिभर सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक प्रस्तुति, बालमैत्री गतिविधि र ज्ञानमूलक प्रदर्शनीहरू आयोजना हुनेछन्।
एक्सपो व्यवस्थापन समितिका अध्यक्ष विकल क्षेत्री र एक्सपो संयोजक पालदेन लामाले सार्वजनिक विदा तथा उत्सवको अवसरमा नारायणी एक्सपो २०८२ अवलोकन गरी यसलाई भव्य, सभ्य र सफल बनाउन सम्पूर्ण दर्शक, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्।





















उज्यालो खबर










