भरतपुर । भरतपुर महानगरपालिका–२२ कुमिया (पटिहानी नजिक) मा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा माडी नगरपालिका–२ भैरपुर निवासी ३५ वर्षीय सूर्य नारायण महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना. २४ प. ५२९४ नम्बरको मोटरसाइकलको टायर अचानक पञ्चर भई अनियन्त्रित हुँदा विपरीत दिशाबाट आउँदै गरेको ना. ७ ख. ३६८३ नम्बरको टिप्परसँग ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक महतोको उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले अपराह्न ५:२२ बजे उनलाई मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार माडी नगरपालिका–२ भैरपुर निवासी ३६ वर्षीय केशर महतो घाइते भएका छन्। उनको बायाँ हातमा सामान्य चोट लागेको र हाल भरतपुर सरकारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





















उज्यालो खबर










