×

चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको उपस्थिति नहुने विशेष महाधिवेशनमा आफू तथा जिल्लाका प्रतिनिधिहरू सहभागी नहुने बताएका छन्।

सभापति खनालले पार्टीलाई विभाजनतर्फ धकेल्ने उद्देश्यले डाकिएको विशेष महाधिवेशनमा चितवनका महाधिवेशन प्रतिनिधिहरू सहभागी नहुने विश्वास व्यक्त गरे।

उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट पार्दै विशेष महाधिवेशन अपरिहार्य भए पनि सहमति, विश्वास र एकताको आधारमा अघि बढ्नुपर्ने बताए। पार्टी नै फुट्ने खालको अभ्यास स्वीकार्य नहुने उनको भनाइ छ।

‘शेरबहादुर देउवा र शेखर कोइराला विशेष महाधिवेशनमा जानुहुन्छ भने हामी पनि सहभागी हुन्छौं,’ खनालले भने, ‘यदि उहाँहरू सहभागी हुनुहुन्न भने हामी पनि जाने कुरा हुँदैन। मैले जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई यही कुरा स्पष्ट रूपमा बताइसकेको छु। उहाँहरू आफैंले पनि विवेक पुर्‍याउनुहुनेछ भन्ने विश्वास छ।’

जिल्ला सभापति खनालले पुस २६ गते साँझसम्म कुनै न कुनै निकास निस्कने आशा आफूले लिएको जानकारी दिए।

चितवन जिल्लाबाट नेपाली कांग्रेसका ८५ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। देउवा पक्षका एक महाधिवेशन प्रतिनिधिका अनुसार जिल्लाबाट २५ देखि ३० जनाभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी नहुने सम्भावना छ।

उनका अनुसार सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही प्रतिनिधिहरूले अहिले हस्ताक्षर फिर्ता लिएका छन् भने हस्ताक्षर गरेका केही प्रतिनिधिहरू पनि महाधिवेशनमा सहभागी नहुने तयारीमा छन्।

तपाईको प्रतिक्रिया