नवलपुर – नवलपुरको गैँडाकोटका १८ वर्षीय विद्यार्थी रुबिन बास्ताकोटीले विश्वप्रसिद्ध सामाजिक सञ्जाल Instagram (Meta) को प्रणालीमा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन्। उक्त कमजोरीका कारण Meta Verified सदस्यता प्रयोगकर्ताले मासिक शुल्क नतिरी पनि ब्लु टिक (Verification Badge) सक्रिय राख्न सक्ने अवस्था रहेको पाइएको थियो।
रुबिन हाल अक्सफोर्ड कलेज गैँडाकोटका BCA प्रथम सेमेस्टरका विद्यार्थी हुन्। उनले पत्ता लगाएको कमजोरीलाई समयमै समाधान नगरिएको भए Meta कम्पनीलाई ठूलो आर्थिक क्षति पुग्न सक्ने, साथै Meta Verified प्रणालीको विश्वसनीयता कमजोर बन्ने जोखिम रहेको बताइएको छ।
रुबिनले उक्त समस्या Meta को Official Bug Bounty Program मार्फत जिम्मेवार रूपमा रिपोर्ट गरेका थिए। करिब दुई महिनाको परीक्षण र अनुसन्धानपछि Meta ले कमजोरी पुष्टि गर्दै प्रणालीलाई पूर्ण रूपमा सुधार (Patch) गरेको जनाएको छ।
समस्या समाधानमा योगदान पुर्याएबापत Meta ले रुबिनलाई USD 1,500 (Bug Bounty Reward) USD 75 (Bonus) गरी कुल USD 1,575 (नेपाली रुपैयाँ करिब २ लाख २६ हजार ८ सय) पुरस्कार प्रदान गरेको हो।
उक्त कमजोरी दुरुपयोग भएको खण्डमा प्रयोगकर्ताहरूले शुल्क नतिरी ब्लु टिक प्रयोग गर्न सक्ने, नक्कली पहिचान बढ्ने तथा Meta Verified कार्यक्रमको मूल्य र विश्वास घट्ने खतरा रहेको विज्ञहरू बताउँछन्।
सानो उमेरमै अन्तर्राष्ट्रिय टेक कम्पनीको सुरक्षा प्रणालीमा योगदान पुर्याएका रुबिनको यो उपलब्धिलाई नेपाली युवाहरूका लागि प्रेरणादायी सफलताका रूपमा हेरिएको छ। प्रविधि, साइबर सुरक्षा र Ethical Hacking मा रुचि राख्ने विद्यार्थीहरूले सही कानुनी बाटो अपनाएर विश्वस्तरीय उपलब्धि हासिल गर्न सकिने उनको सफलताले देखाएको छ। रुबिनले Meta बाट प्राप्त आधिकारिक प्रतिक्रिया सम्बन्धी प्रमाण तथा आफ्नो तस्बिर समेत सार्वजनिक गरेका छन्।






















उज्यालो खबर










