सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मंगलवार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनल यात्रा सुनिश्चित गरेको हो।
१५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको विराटनगर १४ ओभर एक बलमै ७८ रनमा सबै विकेट गुमाएर समेटियो। विराटनगरका ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि टोलीलाई जितको बाटोमा ल्याउन सकेनन्। अन्य ब्याटरहरूले उनलाई साथ दिन नसकेपछि विराटनगर दबाबमा पर्यो। साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए।
सुदूरपश्चिमका बलरहरू उत्कृष्ट फर्ममा रहे। हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले दुई–दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। टोलीका ओपनर विनोद भण्डारी चम्किए—उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले। अन्यमा मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४, स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे।
विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट हात पारे।
अब सुदूरपश्चिम रोयल्सले उपाधिका लागि शनिवार हुने फाइनलमा खेल्नेछ। पहिलो क्वालिफायरमा पराजित विराटनगर किंग्सले भने दोस्रो क्वालिफायरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





















उज्यालो खबर










