नवलपुर – नेकपा एमालेको ११औँ महाधिवेशनको प्रतिनिधि निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट इन्जिनियर दीपेन्द्र सुनारी (मगर) सर्वाधिक लोकप्रिय मतसहित प्रतिनिधि निर्वाचित भएका छन्। उनले कुल १,१२० मत प्राप्त गर्दै विजयी हुन सफल भएका हुन्।
बुलिङटार गाउँपालिकाका अध्यक्ष सुनारी गण्डकी प्रदेशका ८५ स्थानीय सरकारमध्ये सबैभन्दा कान्छो स्थानीय सरकार प्रमुखको रूपमा परिचित छन्। युवा नेताको रूपमा राजनीति क्षेत्रमा सक्रियता र जनसेवामा प्रतिबद्धताका कारण उनलाई स्थानीयस्तरमा अत्यधिक लोकप्रियता प्राप्त भएको हो।
इन्जिनियर दीपेन्द्र सुनारीले त्रिवि अन्तर्गतको थापाथली ईन्जिनियरिङ क्याम्पसबाट स्नातक (ब्याचलर इन इन्जिनियरिङ) पूरा गरेका छन् भने पूर्ण छात्रवृत्तिमा चीनको हस्ट विश्वविद्यालयबाट मास्टर्स इन इन्जिनियरिङ पनि सम्पन्न गरिसकेका छन्। उनले आफ्नो शिक्षा र युवा नेतृत्वको अनुभवलाई राजनीति तथा स्थानीय विकासमा प्रयोग गर्दै आएका छन्।
सुनारीले भने,”मेरो मुख्य उद्देश्य मेरो क्षेत्रका जनताको समस्यामा ध्यान दिनु र विकासका कामलाई द्रुत गतिमा अघि बढाउनु हो। जनता र पार्टीको विश्वासले मलाई यहाँ ल्याएको हो, त्यसैले जिम्मेवारी थपिएको महसुस हुन्छ।”
२०५१ सालमा बुलिङटार वडा नं. १ मा जन्मिएका सुनारीले २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको कडा पकड रहेको क्षेत्रमा एमालेको झण्डा फहराउन सफल भएर युवा शक्ति र कुशल नेतृत्वको उदाहरण प्रस्तुत गरेका थिए।
सुनारीको यस सफलता र नेतृत्व क्षमताले आगामी राजनीतिक कार्यकालमा उनको सक्रियता र विकास कार्यप्रति आम जनताको अपेक्षा बढाएको छ।




















उज्यालो खबर










