गैँडाकोट -गैँडाकोट नगरपालिकाले आपतकालीन प्रत्युत्तर क्षमता सुदृढ बनाउन नयाँ दमकल (बारुणयन्त्र) भित्र्याएको छ। आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरिएको बजेटबाट खरिद गरिएको दमकल बाढीका कारण रसुवागढी नाकामा ढिलाइ भए तापनि अब नगरमा आइपुगेको छ, जसले नगरको विपद् व्यवस्थापन सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नगरपालिकाको विपद् शाखाका इञ्जिनियर शंकर कंडेलका अनुसार ९४ लाख ४४ हजार रुपैयाँ लागतमा दमकल आधुनिक उपकरण तथा उच्च क्षमताका पम्पसहित नगरमा भित्रिएको हो। दमकल सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक कार्यविधि तयारीलाई नगरपालिकाले तीव्रता दिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो।
नगरप्रमुख मदनभक्त अधिकारीले नयाँ दमकलले नगरवासीको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो। “गैँडाकोटमा विपद् जोखिम उच्च छ। आगलागीजस्ता आकस्मिक घटनामा तत्कालै परिचालन गर्न सकिने क्षमता अहिलेको प्रमुख आवश्यकता हो। नयाँ दमकलले नगरको आपतकालीन प्रतिक्रिया समय घटाउनेछ र जनधनको सुरक्षा गर्न ठूलो सहयोग पुग्नेछ,” नगरप्रमुख अधिकारीले बताउनुभयो।
उहाँका अनुसार नगरपालिकाले दैवी विपद् सम्बन्धी पूर्वतयारीलाई दीर्घकालीन रूपमा थप बलियो बनाउँदै लैजाने लक्ष्य राखेको छ। कार्यविधि औपचारिक रूपमा जारी नहुँदासम्म कुनै आकस्मिक घटना घटेमा मौजुदा जनशक्तिबाटै दमकल सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत लामगादेले स्पष्ट पार्नुभयो।
नयाँ दमकल सञ्चालनमा आएपछि नगरका बस्ती, बजार तथा सामुदायिक संरचना थप सुरक्षित हुने र विपद् नियन्त्रण तथा क्षति न्यूनिकरणमा गुणात्मक सुधार आउने अपेक्षा नगरवासीले राखेका छन्।





















उज्यालो खबर










