×

गैडाकोट–१७ स्थित सरस बेभरेज कम्पनी प्रा.लि. (रेड बुल) ले स्थानीय कामदारलाई रोजगार नदिएको तथा पटक–पटकको छलफलपछि पनि सकारात्मक कदम नचालेको आरोपसहित स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले आज फ्याक्ट्री परिसरमा पुगेर विरोध प्रदर्शन गरेका छन्।

फ्याक्ट्री व्यवस्थापनसँग स्थानीय प्रतिनिधिहरूले धेरैपटक समन्वय गर्न खोजेपनि कम्पनीले स्थानीय कामदार राख्ने विषयमा निरन्तर टालमटोल गरेको स्थानीयको आरोप छ। यसैबीच आजको स्वतःस्फूर्त प्रदर्शनमा जनप्रतिनिधि, श्रमिक तथा स्थानीयवासीहरू सहभागी भएको जनाइएको छ।

विरोध कार्यक्रममा गैडाकोट–१६ का वडा अध्यक्ष विनोद कुमार मल्ल समेत सहभागी भए। उनले भने—“हामीले बारम्बार कुरा अघि सारे पनि स्थानीय कामदारलाई प्राथमिकता नदिई टालमटोल गरिएको छ। स्थानीयको हक–अधिकार र रोजगारीको प्रश्नमा कुनै सम्झौता हुँदैन। फ्याक्ट्रीले सामाजिक उत्तरदायित्वअनुसार व्यवहार गर्नुपर्छ।

प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै फ्याक्ट्रीभित्र रहेको ‘असहज र अन्यायपूर्ण’ अवस्थाबारे छानबिन गर्न माग गरेका छन्। स्थानीयस्तरमा कामदारको हक–अधिकार रक्षा र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलन सुरु गरिएको प्रदर्शनकर्ताहरूले बताएका छन्।

शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदर्शनमा सहभागी स्थानीयले आगामी दिनमा फ्याक्ट्रीका विभिन्न पक्षहरू क्रमशः उजागर गर्दै लैजाने र कर्मचारी हितका मुद्दालाई निरन्तर उठाइने बताएका छन्।

तपाईको प्रतिक्रिया