×

चितवन — क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा र यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा १९औँ हात्ती तथा पर्यटन महोत्सव–२०८२ आगामी पुस ११ गतेदेखि १३ गतेसम्म पर्यटन नगरी सौराहामा हुने भएको छ। २०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव चितवनको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मानिन्छ।

यस वर्षको महोत्सवमा हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्ती स्वास्थ्य शिविर, तथा हात्तीको दैनिकीबारे जानकारी प्रदान गर्ने कार्यक्रमहरु रहनेछन्। साथै, पालिकास्तरीय डुङ्गा दौड, हात्ती मैत्री प्रतियोगिता, तथा जिप, डुङ्गा र हात्ती सफारीमार्फत सफारी पर्यटनको प्रवर्द्धन गरिने संयोजक गुणराज थपलियाले बताए। उनका अनुसार ८० वटा हात्ती महोत्सवमा सहभागी हुनेछन्।

महोत्सवमा चितवनको पर्यटन, सम्भावना र चुनौती विषयक अन्तर्क्रिया, चित्रकला प्रतियोगिता, मानव–वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन, तथा संरक्षणमा हात्तीको भूमिकाबारे विद्यालयस्तरीय वक्तृत्व प्रतियोगिता पनि आयोजना गरिनेछ। संरक्षणकर्मी, वातावरणविद् तथा पूर्वसंरक्षण अधिकारीहरूको सन्देशमूलक सामग्रीसमेत प्रदर्शन गरिनेछ।

संयोजक थपलियाका अनुसार महोत्सवका कारण २५–३० प्रतिशत पर्यटक वृद्धि हुने अनुमान गरिएको छ। महोत्सव अवधिमा आउने पर्यटकका लागि क्षेत्रीय होटल सङ्घ र रेवान सौराहाका सदस्य होटल–रेस्टुरेन्टहरूले आवास र खानामा १० प्रतिशत छुट दिने सहमति गरेका छन्।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार महोत्सवमा २५ वटा विविध स्टल रहनेछन्। उनले सौराहालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा विकास गर्न हात्ती सफारी प्रमुख आकर्षण भएको बताए। चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा भएकाले वन–सफारीका लागि यहाँ आउने पर्यटककै आवास व्यवस्थापनमा सौराहाका होटलहरू प्रमुख मानिन्छन्।

कम पर्यटक आउने समय भएकाले महोत्सवले पर्यटक आकर्षण बढाउने र स्थानीय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया