×

निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटतर्फ रहेको नारायणी पुलको एप्रोच सडकमा कालोपत्रे गर्ने कामका कारण मंसिर ५ र ६ गते राति पुलमा सवारी आवत–जावत पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला सडक आयोजनाले  सूचना सार्वजनिक गर्दै दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुल प्रयोग गर्न नपाइने जनाएको हो।

आयोजनाले पुलमा ट्राफिक व्यवस्थापन गर्न सवारी रोक्ने स्थानसमेत तोकेको छ। बुटवलतर्फबाट नारायणघाटतर्फ आउने यात्रुवाहक सवारीका लागि थुम्सीदेखि भेडाबारीसम्म र मालवाहक सवारीका लागि बेल्डिहादेखि प्रगतिनगरसम्म सवारी रोक्नुपर्नेछ।

यस्तै, नारायणघाटतर्फबाट बुटवलतर्फ जाने सवारीका लागि मुग्लिङ–नारायणघाट सडकखण्डको रामनगरदेखि जुगेडीसम्म तथा पूर्व–पश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म यात्रुवाहक सवारी रोक्ने व्यवस्था मिलाइनेछ। मालवाहक सवारी भने मुग्लिङ–नारायणघाट सडकको जुगेडीदेखि दासढुंगा र पूर्व–पश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीसम्म रोकिनेछन्।

निर्धारित समयमा पुल बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न या तोकिएको स्थानमा सवारी रोकेर पालो कुर्न आयोजनाले सबैलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया