×

बारा । एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका निम्ति महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेता आउने भएपछि जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेन-जी समूह प्रदर्शनमा उत्रिएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन-जी समूहले प्रदर्शन गरेको हो ।

काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ । सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान हुने बुद्ध एयरले जनाएको छ ।

अहिले प्रदर्शनकारीहरू सिमरा विमानस्थलको धावनमार्गमै प्रदर्शन गरिरहेको पत्रकार वेद भट्टले बताए । प्रहरी स्रोतका अनुसार एमाले महासचिव पोखरेल र उक्त पार्टीका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने योजना जेन-जी समूहले बनाएको र यथेष्ट सुरक्षा व्यवस्था नभएसम्म त्यहाँ नआउन भनिएको छ ।

महासचिव पोखरेल चढेकै विमानबाट सिमरातर्फ जाँदै गरेका पत्रकार राजन कुइँकेलले आफूहरुलाई विमानबाट उतारिएको भनी फेसबुकमा स्ट्याटस अपलोड गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया