×

नवलपुर – भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा मौलाकाली केबलकारमा भएको आगजनी तथा तोडफोडका कारण दुई महिनाभन्दा बढी समयदेखि अवरुद्ध रहेको सेवा अब १–२ दिनमै पुनः सञ्चालनमा आउने भएको छ। गैँडाकोटस्थित मौलाकाली मन्दिरको मुख्य आकर्षण मानिने केबलकार छिट्टै नै भक्तजन तथा सर्वसाधारणका लागि खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ।

मौलाकाली केबलकार प्रालिका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार क्षतिग्रस्त उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मतका लागि अष्ट्रियाबाट विशेष प्राविधिक टोली आएको थियो। एक सातासम्म चलेको परीक्षणपछि प्रत्येक उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मत सम्पन्न गरिएको उनले बताए।

उनका अनुसार प्राविधिक परीक्षण सफल भएसँगै हिजो साँझदेखि केबलकार आन्तरिकरूपमा चलाउन थालिएको छ। आन्तरिक परीक्षणमार्फत सबै सिस्टम स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब १/२ दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको हो।

पौडेलका अनुसार, “केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित छ। अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ। दर्शनार्थी तथा होटल जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ।”

जेन्जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ। सेवा अवरुद्ध भएपछि मौलाकाली मन्दिरमा आउने दर्शनार्थीको संख्या उल्लेख्य रूपमा घटेको थियो। टप–स्टेशनमा रहेको प्रसिद्ध इला होटल पनि आवागमन कम भएपछि ठूलो चुनौतीमा परेको थियो।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार केबलकार पुनः सञ्चालनमा आएपछि गैँडाकोट क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन गतिविधि पुनः चहलपहलमा फर्कने अपेक्षा गरिएको छ। मौलाकाली मन्दिर प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाका कारण वर्षौंदेखि लोकप्रिय गन्तव्य मानिँदै आएको छ।

तपाईको प्रतिक्रिया