नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारबाट सुरु हुने प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ।
यस संस्करणमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ। खेल बेलुकीसम्म चल्ने भएकाले कम्तिमा दोस्रो इनिङ फ्लडलाइटमा खेलाइनेछ।
क्यानका सचिव पारस खड्काका अनुसार फ्लडलाइट खेलका लागि आवश्यक म्यानपावर र ब्याकअप प्रणाली पूर्ण रूपमा तयार गरिएको छ।
जनकपुर बोल्ट्सका कप्तान विकेटकिपर अनिल साह हुन्। टोलीमा अनिल साह, विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी–ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख, रुपेश सिंह, इमरान ताहिर र मयन यादव रहेका छन्।
काठमाडौं गोर्खाजको कप्तानी करण केसीले गर्नेछन्। टोलीमा करण केसी, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर, सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस र सन्तोष यादव छन्।उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको क्यानले जनाएको छ।
आठ टोलीबीच हुने समूह चरणमा २८ खेल हुनेछ। दैनिक दुई खेल हुने दिन पहिलो खेल ११:४५ मा र दोस्रो खेल ३:३० वा ४ बजे सुरु हुनेछन्।
जसअनुसार अधिकांश दोस्रो खेल तथा प्लेअफका तीन खेल फ्लडलाइटमा हुनेछ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुने तालिका सार्वजनिक गरिएको छ। मंसिर २७ गतेको फाइनल पनि फ्लडलाइटमै खेलाइनेछ।





















उज्यालो खबर

















