×

काठमाडौं – सिंगापुरमा उपचार गराएर शुक्रबार राति स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्केलगत्तै पार्टी राजनीतिकतर्फ सक्रिय भएका छन्। शनिबार साँझ उनले संस्थापन पक्षका चार नेतालाई बोलाएर पार्टीभित्रका विवादबारे विस्तृत छलफल गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवा हाल चुनदेवीस्थित भाडाको निवासमै बस्दै आएका छन्। त्यही निवासमा शनिबार साँझ प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की भेट्न पुगेका थिए।

दुई घण्टाभन्दा बढी चलेको छलफलपछि महतले भने, “सभापतिज्यूले चुनावको तयारीमा लाग्नुपर्ने धारणा राख्नुभयो। पार्टीमा देखिएको विवाद तपाईंहरूले मिलाउनुस् भन्ने संदेश थियो। उहाँको कुरा सुन्दा चुनावपछि महाधिवेशन गर्दा उपयुक्त हुने संकेत मिल्यो।”

नेपाली कांग्रेसमा पछिल्लो समय चुनावअघि नै महाधिवेशन गर्नुपर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ। संस्थापन पक्षका शीर्ष नेताहरू महाधिवेशन चुनावपछि गर्नुपर्ने पक्षमा छन् भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्।

संस्थापनइतर नेता डा. शेखर कोइराला भने चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। संस्थापन पक्षभित्र पनि एकमत छैन—२४ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्।

शनिबारको भेटमा देउवाले यी सबै विवादका विषयमा चार नेताबाट प्रत्यक्ष जानकारी लिए। उनले छिट्टै पूर्वपदाधिकारी तथा संस्थापन पक्षका २४ केन्द्रीय सदस्यसँग पनि छुट्टै भेटवार्ता गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया