×

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू देश छाडेर नभाग्ने स्पष्ट बताएका छन्।एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई “फेद न टुप्पोको आकाशबेली सरकार” को संज्ञा दिएका हुन्।

ओलीले भने, “अहिले यो फेद न टुप्पोको सरकार हो, जरा पनि छैन, हाँगा पनि छैन। एउटा पहेंलो लहरो हुन्छ नि, आकाशबेली जस्तै — कहाँबाट पलायो, कहाँबाट ? यही सरकारले हामीजस्ता कमिटमेन्ट भएका मान्छेलाई पासपोर्ट रोक्का गर्छ। के काम गर्छ यो सरकार ?”

देश छाड्ने हल्ला खारेज गर्दै उनले थपे, “केपी ओली भागेर जान्छ ? मर्न परे पनि यो देशमै मर्छु। सुकरात त्यसबेला भागेनन्, आजको केपी ओली किन भाग्छ ? आफैँजस्तो ठानेर पासपोर्ट रोक्का गरेको होला।”

उनले अहिलेको सरकारले संविधानको मर्म मिचेको आरोप पनि लगाए। “यो हाहुमा बनेको गैरजिम्मेवार र असंवैधानिक सरकार हो, जसलाई देश सुम्पिएको छ,” ओलीको आरोप थियो।

तपाईको प्रतिक्रिया