×

चितवन –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक भोलि (शुक्रबार) बिहानदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुने भएको छ। बैठकका सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।२१ र २२ कात्तिकमा सञ्चालन हुने उक्त बैठकले पार्टीको आगामी राजनीतिक दिशा, सांगठनिक पुनर्गठन तथा फागुनमा तोकिएको महाधिवेशनका विषयमा निर्णय गर्नेछ।

बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्ने कार्यक्रम तय गरिएको छ। रास्वपाले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो।बैठकमा कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र मस्यौदा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन र सह–महामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्।

५१२ जना प्रतिनिधि सहभागी हुने उक्त बैठकमा केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, प्रदेश र जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, पालिकाका सभापति र विदेशस्थित पार्टी संगठनका पदाधिकारी सहभागी हुनेछन्।प्रदेश सभापतिहरूले प्रदेशभित्रका संगठनात्मक अवस्था र चुनौतीबारे धारणा राख्नेछन्। बैठकमा पेस गरिएका प्रतिवेदनमाथि छलफल गरी आवश्यक परिमार्जनसहित निष्कर्ष निकालिने रास्वपा केन्द्रीय सदस्य राजन गौतमले बताए।

बैठकले वैकल्पिक राजनीतिक शक्ति निर्माण, पार्टी संरचना पुनर्गठन, सांगठनिक कमजोरी र भावी रणनीतिबारे गम्भीर बहस गर्नेछ।जेनजी आन्दोलनपछि उत्पन्न विवाद र पार्टीभित्र देखा परेको मतभिन्नता सम्बन्धमा समेत स्पष्ट धारणा तय गरिने प्रवक्ता मनिष झाले बताए। उनका अनुसार, “रास्वपामा फरक विचारलाई सम्मान गर्ने र सबैलाई बोल्ने अवसर दिने” नीति अवलम्बन गरिएको छ।बैठकका लागि पूर्व सांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र ७ उपसमिति गठन गरिएको छ।

दुई दिनसम्म चल्ने बैठकका लागि सहभागीलाई खानाको व्यवस्था पार्टीले नै गर्नेछ भने आवासको व्यवस्था प्रतिनिधिले आफैं गर्नुपर्नेछ।
खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट रु. १,५०० शुल्क तोकिएको छ। सौराहाका होटलमा आवासका लागि प्रति कोठा रु. १,००० देखि ३,००० सम्मको दरमा सहमति गरिएको जिल्ला सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए।

तपाईको प्रतिक्रिया