×

चितवन-  हजारौँ सर्वसाधारणको सहभागितामा मंगलबार देवघाटधाम–गन्डकी परिक्रमा महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो।

नेपाल सन्त समाजको आयोजनामा तथा देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र सन्त–महात्माहरूको अगुवाइमा कार्तिक शुक्ल–वैकुण्ठ चतुर्दशीका अवसरमा भएको महोत्सवको सुरुवात त्रिशूली र कालिगण्डकीको संगमस्थल बेणीमा गणेश पूजन गरेर गरिएको थियो।

गलेश्वर आश्रम परिसरमा आयोजित विशेष कार्यक्रममा सन्त–महन्तहरूले देवघाटधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे मन्तव्य राखेका थिए। कार्यक्रममा गलेश्वर आश्रमका पिठाधीश स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष श्री ज्ञानानन्द सरस्वती, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर उपप्रमुख चित्रसेन अधिकारी, गैँडाकोट मेयर मदनभक्त अधिकारी, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा लगायतको उपस्थिति थियो।

महोत्सवले बैदिक सनातन धर्म, संस्कृति र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजक महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।

परिक्रमा कार्यक्रम अन्तर्गत सहभागीहरूले तनहुँ, चितवन र नवलपुरका दर्जनौँ धार्मिक स्थल, मन्दिर, गुम्बा र आश्रमको भ्रमण गरेका थिए। बेणी संगमबाट सुरु भएको २७ किलोमिटरको पैदल परिक्रमा यात्रा तनहुँको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा सम्पन्न भएको थियो।

देवघाटधाम क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरराज लौडारी र पूर्वअध्यक्ष शिवराज पौडेलले महोत्सवले देवघाट क्षेत्रको धार्मिक पर्यटन विकासमा नयाँ ऊर्जा भर्ने बताए। देवघाट गाउँपालिका अध्यक्ष थापाले पनि महोत्सवले देवघाटको पहिचान र आकर्षण बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा आमा समूह, युवा क्लब, धार्मिक संस्था, सामुदायिक वन, प्रहरी, रेडक्रस र विभिन्न स्थानीय संघसंस्थाहरूको सक्रिय सहभागिता थियो। सुरक्षाका लागि प्रहरीको विशेष व्यवस्था मिलाइएको थियो भने एम्बुलेन्स र भोजनको व्यवस्थापन देवघाट, नारायणगढ र गैंडाकोटका मन्दिर र संस्थाहरूले गरेका थिए।

तपाईको प्रतिक्रिया