काठमाडौं । नेपाल जेसीज (JCI Nepal) का अनुभवी र समर्पित नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक उम्मेदवारी दर्ता गरेका छन्।उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुतिका रूपमा यो महत्वपूर्ण नेतृत्व प्रतिस्पर्धामा उत्रिएका हुन्।
कार्कीले आफ्नो उम्मेदवारीलाई ‘संकल्प २०२६ : एकताको संकल्प, रूपान्तरणको यात्रा’ भन्ने नाराका साथ अघि सारेका छन्। उनले संगठनभित्र एकता, पारदर्शिता, सहकार्य र स्पष्ट कार्यदृष्टिका माध्यमबाट नेपाल जेसीजलाई अझ प्रभावशाली र सक्षम बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपाल जेसीजमा सन् २०१५ मा सदस्यता लिएका कार्कीले छोटो अवधिमै उल्लेखनीय नेतृत्व यात्रा तय गरेका छन्।सन् २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष, र २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका रूपमा रहेर उनले संगठनमा नीति, प्रशिक्षण र सहकार्यका क्षेत्रमा नयाँ दिशा दिएका थिए।
ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा उनले इमानदार, शालीन र प्रेरणादायी नेतृत्वको छवि स्थापित गरेका थिए। त्यसैबेला उनलाई “साझा उद्देश्य र सहकार्यको प्रतीक नेता”का रूपमा पहिचान गरिएको थियो।
उनको यो वर्षको अभियान ‘संकल्प २०२६’ अन्तर्गत उनले नेतृत्वलाई पदको सट्टा जिम्मेवारीका रूपमा ग्रहण गर्ने र रूपान्तरणको बाटोमा ठोस कार्ययोजना अघि सार्ने बताएका छन्।उनको भनाइमा, “स्पष्ट दृष्टि, दृढ कार्यान्वयन र साझा प्रयासमार्फत मात्र वास्तविक रूपान्तरण सम्भव हुन्छ।”
कार्कीले नेपाल जेसीजभित्रका युवा, महिला र सबै अध्यायबीच सहकार्य र समावेशिताको भावना पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएका छन्।
उनको दीर्घकालीन लक्ष्य भनेको नेपाल जेसीजलाई “राष्ट्र निर्माणको प्रेरणा केन्द्र”का रूपमा सुदृढ बनाउनु रहेको छ।





















उज्यालो खबर

















