चितवन ।चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि सुरु हुने प्रथम खेलकुद तथा वृहत व्यापारिक महोत्सवको पूर्वसन्ध्यामा आज म्याराथन सम्पन्न भएको छ। महोत्सवको प्रचार–प्रसारका लागि समितिले आज बिहान म्याराथन आयोजना गरेको हो।
भरतपुरको गोन्द्राङदेखि नारायणी नदी किनारस्थित महोत्सव स्थलसम्म ६ दशमलव ५ किलोमिटर दुरीको दौडमा पुरुष र महिला गरी एक सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।
पुरुषतर्फ कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले २० मिनेट १० सेकेन्डमा दूरी पार गरी प्रथम बनेका छन्। चितवन कालिकाका सुनिल विकले २१ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरी दोस्रो स्थान हासिल गरे। त्यस्तै आँबुखैरेनीका सनम गुरुङ २१ मिनेट ३० सेकेन्डमा तेस्रो र मकवानपुर बकैया–५ का जेमन तामाङ २२ मिनेटमा चौथो भएका छन्।
महिलातर्फ भरतपुर–१४ शिवनगरकी प्रतिमा हड्ख ३१ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम बनेकी छन्। माडी–सोमेश्वरकी सोनम बोटेले ३२ मिनेट ५५ सेकेन्डमा दूरी पार गरी दोस्रो स्थान प्राप्त गरिन् भने खैरहनी–१३ की आयुष्मा महतो ३७ मिनेट २७ सेकेन्डमा तेस्रो र माडीकै रोशनी महतो ३८ मिनेट १ सेकेन्डमा चौथो बनेकी छन्।
विजेताहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। विजेताहरूलाई भोलि हुने महोत्सवको उद्घाटन समारोहकै क्रममा पुरस्कार वितरण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए।

महोत्सव भोलिदेखि मंसिर २ गतेसम्म नारायणी नदी किनारमा आयोजना हुँदैछ। तयारी अन्तिम चरणमा पुगेको संयोजक विकल कार्कीले जानकारी दिएका छन्। उनका अनुसार आज बेलुकासम्म सम्पूर्ण तयारी पूरा हुनेछ।
महोत्सवको भोलि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले भव्य रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समितिका अनुसार खेलकुद र व्यापारलाई जोडेर चितवनमा पहिलो पटक यस किसिमको महोत्सव आयोजना गरिएको हो।





















उज्यालो खबर

















