गैँडाकोट । नवलपुरको गैँडाकोटमा पछिल्ला दिनमा मोटरसाइकल चालकहरुको मनपरीपनले स्थानीय वासिन्दा त्रसित भएका छन् । मुख्य राजमार्गदेखि सहायक मार्ग र बजारका चोकचोकमा चर्को आवाज निकाल्ने, तिव्र गतिमा हुइँक्याउने र स्वरूप परिवर्तन (मोडिफाइ) गरेका मोटरसाइकलहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।
राति अबेरसम्म मोडिफाइड बाइक हुइँक्याउँदै हुँइकिने युवाहरूको समूह देखिन थालेको छ । गैँडाकोट नयाँबजार, शिलान्यासचोक, मिलनचोक, भृकुटीचोक, काँग्रेसचोक, गैरी र भेडाबारी लगायतका ठाउँमा दैनिकजसो यस्तो दृश्य देखिन्छ ।
गैँडाकोट–२ का स्थानीय प्रेम ज्ञवाली भन्छन्, “हामी राति सुत्नै सक्दैनौं । मोटरसाइकलको चर्को आवाजले सानो बच्चा डराउँछन्, बुढाबुढी झसङ्ग हुन्छन् । प्रहरी नआउँदा यिनले अझ ढाडस पाएका छन् ।”
त्यसैगरी गैँडाकोटका १ सुजन पौडेल भन्छन्, “यस्ता बाइक सवारहरूले बाटोमा हिँड्नेहरूसम्मलाई डराउँछन् । कतिपय युवाले हेलमेट पनि नलगाई, साइलेंसर फेरेर आवाज बढी आउने बनाएका बाइक हुइँक्याउँछन् । यस्तो अवस्था अब नियन्त्रणमा ल्याउनैपर्छ ।”
स्थानीयहरूका अनुसार प्रहरीको नियमित चेकिङ अभावले यो समस्या चर्किँदै गएको हो । ट्राफिक प्रहरीले अन्य स्थानहरुमा स्वरूप परिवर्तन (मोडिफिकेशन) गरेका मोटरसाइकल नियन्त्रणमा लिने अभियान चलाए पनि गैँडाकोटमा भने त्यस्तो पहल नदेखिएको गुनासो छ ।
गैँडाकोटका विभिन्न चोक तथा बजार क्षेत्रमा दिनहुँजसो बाइकको चर्को आवाज गुन्जिँदा समाजमा असहज र असुरक्षित वातावरण बनेको छ । सामाजिक सञ्जालमार्फत पनि स्थानीयहरूले प्रहरी प्रशासनलाई तत्काल कदम चाल्न माग गरेका छन् ।
अब ट्राफिक प्रहरीले गैँडाकोटमा विशेष अपरेसन सञ्चालन गरेर स्वरूप परिवर्तन (मोडिफाइड) बाइक, तिव्र गतिमा सवारी चलाउने र चर्को आवाजमा हुइँक्याउने चालकहरूलाई तत्काल कानुनी दायरामा ल्याउन आवश्यक भएको छ ।





















उज्यालो खबर

















