×

चितवन-  चितवन प्रहरीले स्वरूप परिवर्तन (मोडिफाई) गरी सडकमै आतंक मच्चाउने ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका युनिटहरूबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सवारी साधनको विभिन्न पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेंसर बिगारी वा परिवर्तन गरी पड्किने आवाज निकाल्ने, रातको समयमा चर्को ध्वनि प्रदूषण मच्चाउने, समाजमा अशान्ति र आतंक सृजना गर्ने गरी चलाइएका मोटरसाइकलमाथि कारबाही गरिएको हो ।

स्वीकृतिबिना आफुखुसी सवारी साधनमा परिवर्तन गर्ने, अनावश्यक लाइट र प्रेसर हर्न जोड्ने कार्यले सवारी दुर्घटनाको जोखिम पनि बढाउने भएकाले ती सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी नियम उल्लंघन गर्नेहरूमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया