×

चितवन । चितवनको नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ गतेदेखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी ८० प्रतिशत पुरा भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा मंसिर २ गतेसम्म चल्ने महोत्सव तयारी धमाधम भईरहेको छ ।

हालसम्म तयारी ८० प्रतिशत सकिएको समितिका अध्यक्ष राजन कार्कीले बताए । कार्तिक १८ गते भव्यताका साथ उद्घाटन गर्ने गरी तयारी भईरहेको उनले जानकारी दिए ।उद्घाटनको दिनमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिनेछ । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् । यसका लागि तयारी भईरहेको छ । यस्तै बिच भलिवलका लागि पनि ठाउँ तयार गरिएको छ ।

महोत्सव परिसरमा कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टल निर्माण गरिएको छ । अन्य स्टल निर्माणको काम पनि करिब अन्तिम चरणमा रहेको छ । बाल उद्यानको काम पनि अन्तिम चरणमा रहेको उनले बताए । दर्शकहरुलाई महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माणको काम पनि सुरु भएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।

लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि महोत्सव परिसरमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा निर्माण गरिनेछ । दर्शकले अतिरिक्त शुल्क नतिरी तीनको अवलोकन गर्नसक्ने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए ।

महोत्सवमा तीन सय बढी स्टल रहने रहनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा नि:शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालका चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्न एक करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया