×

काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ ।यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

विभागका अनुसार १० माघ २०८० सालदेखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।

विभागले भनेको छ, ‘यो व्यवस्था आजैको मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ ।’साथै सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न विभागले अनुरोध गरेको छ ।

उनका अनुसार, मापदण्ड कसिलो बनाएसँगै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका थिए । साथै, विचौलियाहरूले कागजात मिलाउने नाममा धेरै असुली गर्न थालेको गुनासा बढेपछि मापदण्ड परिमार्जन गरिएको विभागले जनाएको छ ।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत व्यवहोराको प्रस्थान गर्न व्यक्तिले गरेको स्वघोषणा गरिएको हुनुपर्ने विभागले जनाएको छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण लगायतका कागजात पुर्‍याउनुपर्ने प्रावधान राखिएको थियो ।

तपाईको प्रतिक्रिया