 
    
    
	
	 	
	
	
		काठमाडौँ । अधिकांश सङ्कायमा स्नातक तह चौथो वर्षको परीक्षाफल आइसकेको छ । स्नातक तह पास गरेर बसेका विद्यार्थी अहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने विषयमा योजना बनाइरहेका छन् । ती मध्ये केही विद्यार्थीले स्नातकोत्तर तहमा आईटीसँग सम्बन्धी विषय पढ्ने बारे पनि पक्कै सोचेका होलान् ।
स्नातक तहमा आईटीसँग सम्बन्धित विषयमा पढ्ने विद्यार्थीहरूलाई त यो खासै समस्याको विषय होइन । तर अरू विषय पढेका विद्यार्थीलाई भने यो विषय पढ्न समस्या हुन्छ । किनभने स्नातकोत्तर तहमा आईटी क्षेत्रका सम्बन्धित विषयमा स्नातक पढेका विद्यार्थीहरूले मात्र भर्ना लिन पाउँछन् । त्यसैले धेरै विद्यार्थीहरू आफ्नो योग्यता नपुगेका कारण स्नातकोत्तर तहमा आईटी विषय पढ्न पाइरहेका छैनन् ।
तर पूर्वाञ्चल विश्वविद्यालयले यस्ता विद्यार्थीहरूलाई लक्षित गरेर पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन ९पीजीडीसीए० कोर्स सञ्चालन गर्दै आएको छ । जसले स्नातक तहमा विज्ञान, व्यवस्थापन, मानविकी लगायतका सङ्कायमा पढेका विद्यार्थीहरूले पनि स्नातकोत्तरमा एमआईटी र एमसीए पढ्न सक्ने सम्भावनाको ढोका खोल्छ ।
पूर्वाञ्चल विश्वविद्यालयले २५ वर्ष पहिले पीजीडीसीएका कोर्स सुरु गरेको हो । यो कोर्सको उद्देश्य स्नातक पुरा गरेपछि स्नातकोत्तर तहमा अध्ययन सुरु गर्नु भन्दा ठिक पहिला कम्प्युटर एप्लिकेसन र आईटी क्षेत्रको बारेमा विद्यार्थीलाई सिकाएर स्नातकोत्तर तहमा आईटीका केही कोर्सहरू पढ्न सक्षम बनाउनु हो । र, स्नातकोत्तर तहमा ती कोर्स पढ्ने योग्यता प्रदान गर्नु हो ।
आईटीका कोर्सहरूको अध्यापन नेपालमा सुरु भएको समयदेखि नै विश्वविद्यालयले पीजीडीसीए कोर्स सुरु गरेको विश्वविद्यालयका फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डीन मनोजकुमार हलुवाई बताउँछन् । उनका अनुसार यो कोर्स आईटी क्षेत्रमा आफ्नो करिअर बनाउन चाहेका, तर ब्याचलरमा आईटी नपढेका विद्यार्थीका लागि लक्षित छ ।
यो कोर्स सुरु गर्नुको पछाडि पहिला नेपालका विश्वविद्यालयमा स्नातक तह तीन वर्षे कोर्सको रूपमा मात्र अध्यापन हुनु पनि प्रमुख कारणमध्ये एक रहेको उनले बताए ।
उनी भन्छन्, “२०५६ मा पूर्वाञ्चल विश्वविद्यालयले नै बीसीए पढाउन सुरु गरेर नेपालमा आईटीको कोर्स भित्र्याएको थियो । त्यसबेला ब्याचलरमा तीन वर्षे कोर्स हुन्थ्यो । अमेरिका, अस्ट्रेलिया लगायतका देशका विश्वविद्यालयले १०ं२ं४ वर्ष पढेका विद्यार्थीहरूलाई मात्र स्नातकोत्तरमा भर्ना दिन्थे । त्यसैले बीसीए गरेर विदेश जाने विद्यार्थीलाई थप एक वर्ष यो कोर्स गरेर बाहिर पढ्न जान सजिलो हुन्थ्यो । यो कोर्सले बाहिर पढ्न जाने धेरै विद्यार्थीलाई फाइदा पुगेको छ ।”
यो कोर्समा कम्प्युटरमा आधारित प्रणालीहरूको विश्लेषण, डिजाइन र विकाससम्बन्धी तालिम, वास्तविक जीवनका समस्या समाधानका आइडिया खोज्ने, नवीनतम प्रविधिको अनुसन्धान गर्ने लगायतका विषयहरू सिकाइन्छ ।
हाल यो विषय काठमाडौँको पुतलीसडक स्थित कान्तिपुर सिटी कलेर र मोरङको विराटनगरस्थित स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन हुँदै आएको छ । विश्वविद्यालयले १० प्रतिशत छात्रवृत्तिको लागि प्रवेश परीक्षा लिने र क्याम्पसहरूले बाँकी विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्दै आएको उनले बताए ।
आगामी शैक्षिक सत्रका लागि १५ कात्तिकमा छात्रवृत्तिको प्रवेश परीक्षा विश्वविद्यालयले लिँदै छ । बाँकी सिटका लागि भने सम्बन्धित कलेजले नै प्रवेश परीक्षा लिने उनले बताए । यस्तै शुल्क पनि क्याम्पस आफैँले निर्धारण गर्दै आएको उनले जानकारी दिए ।
सङ्क्षेपमा पीजीडीसीए
कोर्सको नाम: पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन (पीजीडीसीए)
कोर्स अवधि: एक वर्ष (दुई सेमेस्टर)
सञ्चालन गर्ने निकाय: पूर्वाञ्चल विश्वविद्यालय
अध्यापन हुने शैक्षिक संस्था: मोरङको विराटनगरस्थित स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी र कान्तिपुर सिटी कलेज, पुतलीसडक
छात्रवृत्ति: १० प्रतिशत (५% खुला र ५% आरक्षण ), विश्वविद्यालयले परीक्षा लिने
सिट क्षमता: ३०/३० वटा (सम्बन्धित क्याम्पसले प्रवेश परीक्षा लिने)
शुल्क: सम्बन्धित शैक्षिक संस्थाले निर्धारण गर्ने
आवश्यक योग्यता: कुनैपनि सङ्कायबाट स्नातक तहमा कम्तीमा ४०% वा २.० सीजीपीए प्राप्त
करिअर: स्नातकमा आईटी नपढेकाले पनि यो एक वर्षे कोर्स गरेपछि एमसीए, एमआईटी अध्ययन गर्न सक्ने, आईटी सम्बन्धी करिअरका लागि उपयोगी
 
					




















 उज्यालो खबर
 उज्यालो खबर

















