माघे संक्रान्तिको पावन अवसरमा नवलपुर, चितवन र तनहुँको संगमस्थलमा अवस्थित प्रसिद्ध तीर्थस्थल देवघाटधाममा स्नान गर्न जाने भक्तजनहरूका लागि गैँडाकोटतर्फको वैकल्पिक मार्ग सुरक्षित, सहज र छिटो बनेको छ।
गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज चोक तथा भृकुटी चोकबाट सुरु भई शिलान्यासचोक, ब्रिटिसक्याम्प, केलादी हुँदै कालीगण्डकी नदीको बेणीसंगमसम्म सहजै पुग्न सकिने यो मार्गको सडक अवस्था हाल निकै राम्रो रहेको छ। व्यवस्थित सडक भएकाले चारपाङ्ग्रे सवारीसाधनसमेत निर्वाध रूपमा सञ्चालन हुन सक्ने छ।
यसै मार्गमा पर्ने जुक्ती खोलामा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेपछि यात्रा थप सुरक्षित र सहज बनेको छ। करिब ३ किलोमिटर दूरी मात्र पार गर्दा नदी किनारसम्मै सवारीसाधन पुग्ने व्यवस्था मिलाइएको छ। साथै, गैँडाकोटतर्फबाट प्रवेश गर्दा सवारी चाप न्यून हुने भएकाले भक्तजनहरूले सहज यात्रा गर्न सक्ने बताइएको छ।
भक्तजनहरूको सुविधा तथा क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि निःशुल्क डुंगा तथा र्याफ्टिङ सेवा समेत उपलब्ध गराइएको छ। गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारीका अनुसार, “तीर्थयात्रीहरूको सहजता, सुरक्षा र आफ्नो क्षेत्रको प्रचारप्रसारलाई ध्यानमा राख्दै निःशुल्क डुंगा सेवा सञ्चालन गरिएको हो।”
उहाँले गत वर्षको तुलनामा यस वर्ष सडक पूर्वाधारमा उल्लेखनीय सुधार भएको बताउँदै करिब २० मिनेटमै देवघाटधाम पुग्न सकिने अवस्था बनेको जानकारी दिनुभयो। यसले विशेषगरी नवलपुर तथा पश्चिम क्षेत्रबाट आउने भक्तजनहरूलाई उल्लेखनीय सहजता पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
माघे संक्रान्तिको अवसरमा देवघाटधाममा हजारौँ भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ। सोही अनुसार स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले यातायात व्यवस्थापन, सुरक्षा तथा सहजीकरणका सबै तयारी पूरा गरेको जनाइएको छ।





















उज्यालो खबर










