×

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने तयारी गरेका छन्।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले विशेष महाधिवेशन आह्वान पार्टी विधानविपरीत र अवैधानिक भएको निष्कर्ष निकालेको छ। बैठकमा सभापति देउवाले खड्कालाई एकताको सन्देशसहित विशेष महाधिवेशन पक्षधरलाई आह्वान गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार खड्काले केहीबेरमै सार्वजनिक रूपमा पार्टी एकताको पक्षमा उभिन अपिल गर्ने तयारी गरेका हुन्। संस्थापन पक्षले आन्तरिक विवादले पार्टी कमजोर बनाउने भन्दै सबै नेता–कार्यकर्तालाई विधान र विधिभित्र रहेर अघि बढ्न आग्रह गरेको छ।

यसैबीच सभापति देउवाले आजै आफू निकट केन्द्रीय सदस्यहरूसँग पनि समसामयिक राजनीतिक परिस्थिति र पार्टीभित्रको विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ। कांग्रेसभित्र देखिएको मतभेद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा संस्थापन पक्ष सक्रिय देखिएको छ।

तपाईको प्रतिक्रिया