×

चितवन –इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी सेवा विस्तारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ।

‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ अभियानअन्तर्गत गाउँपालिकाले आधारभूत अस्पताल सुदृढीकरणदेखि निःशुल्क उपचार, औषधि वितरण, विपन्न नागरिक र दीर्घरोगीका लागि विशेष कार्यक्रम, साथै महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन प्याकेज ल्याएको हो।

गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पतालको नयाँ भवन निर्माण कार्य यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको छ। अस्पतालमा २४ घण्टा प्रयोगशाला सेवा उपलब्ध गराई उपचार सेवा थप व्यवस्थित, भरपर्दो र गुणस्तरीय बनाइने बताइएको छ। साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक, पहुँचयोग्य र विश्वसनीय बनाउँदै नागरिकलाई सहज सेवा प्रवाह गरिने नीति लिइएको छ।

प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनःस्थापनात्मक स्वास्थ्य सेवाहरूलाई एकीकृत रूपमै विकास गरी सबै नागरिकसम्म स्वास्थ्य पहुँच पुर्‍याउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। नीति अनुसार स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गरिनेछ।

सुत्केरी महिला, अति विपन्न नागरिक र विपद्मा परेका व्यक्तिहरूका लागि निःशुल्क उपचार तथा प्रभावकारी एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिने छ। यस्तै, गाउँपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूमा सरकारद्वारा तोकिएका औषधिहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था गुणस्तरीय बनाइने जनाइएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई सम्मान गर्दै मासिक प्रोत्साहन रकममा वृद्धि गरिनेछ भने सेवा निवृत्त हुने स्वयंसेविकाहरूलाई एक लाख रुपैयाँको अवकाश थैली प्रदान गरिनेछ। दीर्घरोगीहरूका लागि मासिक औषधि खरिद सहायता उपलब्ध गराइने र अति विपन्न वर्गका लागि उपचार सहयोगलाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा सरकारी, निजी र गैरसरकारी संस्थाबीच समन्वय, सहकार्य र साझेदारीलाई व्यवस्थित गर्दै स्वास्थ्य सेवा प्रवाहलाई समन्वित ढंगले अघि बढाइने उल्लेख गरिएको छ।

गाउँपालिकाले प्रस्तुत यी योजनाहरूलाई स्वास्थ्यलाई जनताको मौलिक हकको रूपमा व्यवहार गर्दै ‘नागरिकमुखी र समावेशी स्वास्थ्य सेवा’ को अभ्यासको रूपमा लिएको जनाएको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रस्तुत नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रको संरचना, सेवा र पहुँच तीनवटै पक्षलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। “जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खालका योजनाहरू हामीले अघि सारेका छौं,” उनले भने, “यी योजनाको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउनेछौं।”

तपाईको प्रतिक्रिया