
गैडाकोट- गैडाकोट नगरपालिका–२, शिलान्यास चोकस्थित एक व्युटी पार्लरमा आज दिउँसो आगलागी भएको छ। महेन्द्र स्मारक आधारभूत विद्यालयको नाममा रहेको एक तले टिनको छानावाला भवनमा सञ्चालनमा रहेको नेचुरल ब्युटी पार्लरुमा पूजाको लागि बालिएको धुपबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
निर्मला गिरीद्वारा सञ्चालित सो पार्लरमा दिउँसो १२: १० बजेतिर आगलागी सुरु भई छिट्टै फैलिएको थियो। आगलागीको खबर पाएलगत्तै प्रहरी, दमकल र स्थानीयवासीहरूको सक्रियतामा करिब ३० मिनेटपछि १२:४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो।
आगलागीबाट मानवीय क्षति नभए पनि पार्लरमा रहेका सर-सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।सुरक्षाका दृष्टिले दमकल र सुरक्षाकर्मीको तत्कालैको पहलले आगलागी थप फैलिन नपाउँदा ठूलो दुर्घटना टरेको बताइएको छ।