
गैँडाकोट– नवलपुरको गैँडाकोटस्थित अक्सफोर्ड सेकेन्डरी स्कूलमा बुधबार विद्यालयस्तरीय नमूना निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । विद्यार्थीहरूको नेतृत्व विकास, लोकतान्त्रिक मूल्य अभिवृद्धि र जिम्मेवारी बोध गराउने उद्देश्यसहित आयोजना गरिएको सो निर्वाचनबाट विभिन्न पदाधिकारीहरू निर्वाचित भएका छन् ।
विद्यालय क्याप्टेन पदमा राघव वाग्ले विजयी हुनुभएको छ भने भाइस क्याप्टेन पदमा आकांक्षा पाण्डेले जित हासिल गर्नुभएको छ । निर्वाचन अन्तर्गत विद्यालयमा रहेका चार सदन (हाउस) मा पनि नेतृत्व चयन गरिएको छ ।
त्यसैगरी ब्लु हाउस क्याप्टेनमा दीक्षा पौडेल निर्वाचित हुनुभएको छ भने भाइस क्याप्टेनमा अंकित अधिकारीले जित हासिल गर्नुभएको छ । दुवै जनाले नेतृत्व क्षमतामा अगाडि रहेर अनुशासनयुक्त व्यवहारको उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सृजनशीलता, ऊर्जा र सकारात्मक सोचको प्रतीक मानिने एल्लो हाउस क्याप्टेनमा नमन अर्याल र भाइस क्याप्टेन पदमा बिराट मिश्र निर्वाचित हुनुभएको छ। विद्यार्थीहरूलाई नवप्रवर्तन र सिर्जनशील कार्यमा प्रेरित गर्ने उद्देश्यले यो सदनले अग्रसरता लिँदै आएको छ।
यसैगरी प्रकृति, सहिष्णुता र समृद्धिको प्रतिनिधित्व गर्ने ग्रिन हाउस क्याप्टेनमा अनुसुया आचार्य र भाइस क्याप्टेनका रूपमा शिशिर गौतम विजयी हुनुभएको छ।उहाँहरूले हरियाली र वातावरणमैत्री गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सुनाउनुभएको छ।उता जोश, साहस र नेतृत्वको प्रतिक मानिने रेड हाउस क्याप्टेनमा आयुष गौतम र भाइस क्याप्टेन पदमा सुधाम्सु सिग्देल निर्वाचित हुनुभएको छ। विजयी टोलीले सामाजिक उत्तरदायित्व र सहकार्यलाई प्राथमिकता दिने बताएका छन्।
कुल ३९१ मतदाता सहभागितामध्ये १ मत बदर भएको थियो । मतदान अधिकृत श्रीधर पाठकको समन्वयमा सम्पन्न निर्वाचनमा निष्पक्ष र व्यवस्थित प्रक्रिया अपनाइएको थियो । चारै सदनका लागि छुट्टाछुट्टै मतदान केन्द्रहरू तोकिएका थिए । रातो सदनमा मिलन लामिछाने, निलो सदनमा शर्मिला श्रेष्ठ, पँहेलो सदनमा आशिका आचार्य र हरियो सदनमा सुरज कुमार ढकाल मतदान अधिकृतको रूपमा रहनुभएको थियो ।
यस अवसरमा विद्यालयका एकेडेमिक इन्चार्ज कमल प्रसाद वाग्लेले नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। उहाँले विद्यार्थी नेताहरूले अनुशासन, सक्रियता र समावेशी नेतृत्वमार्फत विद्यालयको प्रतिष्ठा अझ उचो पार्ने विश्वास व्यक्त गर्नुभएको थियो।
विद्यालय प्रशासन शाखाका प्रमुख नारायण सिग्देलले उज्यालो खबरसँग कुरा गर्दै नमूना निर्वाचन विद्यार्थीहरूमा नेतृत्व विकासको अभ्यासमूलक माध्यम भएको बताउनुभयो। अक्सफोर्ड सेकेन्डरी स्कूल गैँडाकोट क्षेत्रको एक प्रतिष्ठित र रोजाइको शिक्षण संस्था हो, जहाँ शैक्षिक उत्कृष्टताका साथै व्यवहारिक सीप र नैतिकताको समेत अभिवृद्धिमा जोड दिइन्छ ।