×

राजेन्द्र पाैडेल

गैँडाकोट –  शिक्षकलाई राष्ट्र निर्माता भनिन्छ। तर आज शिक्षकहरूका नाममा देखिएको आन्दोलनले के साँच्चिकै राष्ट्र निर्माणमा योगदान दिन खोजिएको होरु कि केही विशेष समूहले शिक्षक को आवरणमा आफ्ना सुविधाको लिस्ट सरकारमाथि थोपर्न खोजिरहेका छन् ।

३१ बुँदे माग सार्वजनिक भएलगत्तै एउटा स्पष्ट सन्देश बाहिर आयो—शिक्षा होइन, स्वार्थ मुख्य एजेन्डा हो। के शिक्षाको माया गर्ने मान्छेले यस्तो माग गर्थे ?अस्थायीलाई स्थायी बनाउने, राहत शिक्षकलाई प्रतिस्पर्धाबिनै समायोजन गर्ने, विद्यालय व्यवस्थापन समितिको सिफारिसमै नियुक्ति गर्ने जस्ता प्रस्तावले शिक्षा क्षेत्रलाई सुधार गर्छन् कि झनै दलालीको अखडा बनाउँछन् ?

शिक्षकको पेशा के जागिर मात्र होरु पेन्सन, सुविधा, सेवा अवधि, दरबन्दी, सरुवा, बढुवा, सबथोक चाहिएको छ—तर कता छ शिक्षाको कुरारु निजी विद्यालयमा काम गर्ने शिक्षकको हालत के हो भन्नेबारे एक शब्द छैन। वर्षौं वर्ष १०–१५ हजारमा काम गरिरहेका ती शिक्षकहरूको हैसियतबारे आवाज उठाउन किन कन्चट पोल्छ ?

सत्य के हो भने—शिक्षक आन्दोलन अहिले शिक्षाको होइन, पदको राजनीति हो। संघीयता, समायोजन, सिफारिस, ट्रेण्ड, दरबन्दी, सबै आफ्ना मान्छे मिलाउनका औजार बनेका छन्। गुणस्तरीय शिक्षाको नाममा केवल कार्यालयको टेबल ताक्ने, कुन दिन बढुवा हुन्छ भन्ने पर्खाइ गर्ने, अनि विद्यार्थी र अभिभावकका पीडाबारे नबोल्ने यो वर्गलाई अब प्रश्न गर्नैपर्छ—तपाईंहरू शिक्षक हो कि सुविधा खोज्ने ठेकेदार?

शिक्षा क्षेत्रको सुधार भनेको केवल सरकारी शिक्षकको सुविधा वृद्धि होइन। सुधार भनेको सिकाइको वातावरण बनाउनु, जिम्मेवार शिक्षक तयार गर्नु, र सम्पूर्ण शिक्षक वर्गलाई समान आधारमा मूल्यांकन गर्नु हो। तर यहाँ के भइरहेको छ भने, २-४ हजार मान्छे सडकमा उत्रिएर ३ करोड जनताको भविष्यलाई बन्दक बनाइरहेका छन्।

अब प्रश्न सरकारतिर पनि जान्छ—के तपाईं दबाबमा आएर हरेक आन्दोलनकारीको माग पुरा गर्ने होकि नीति र निष्ठाको आधारमा निर्णय गर्ने हो ? हामी शिक्षकको सम्मान गर्छौं। तर जो शिक्षकको नाममा स्वार्थको राजनीति गर्छ, उनीहरूको विरोध अब खुलेर गरिनुपर्छ।

तपाईको प्रतिक्रिया