गैँडाकोट- नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला नगर उद्योग बाणिज्य संघ नवलपुरले नारायणगढ बुटवल सडक खण्ड निर्माणमा भैरहेको ढिलाईप्रति गम्भिर चासो राखेका छन् । देशकै महत्वपूर्ण रणनितिक सडकका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्डमा निर्माणमा भैरेहको ढिलाईका कारण देशको अर्थतन्त्रमा नै गम्भिर असर परिरहेको भन्दै तत्काल सडक निर्माणको कामलाई अघि बढाउन महासंघले आग्रह गरेको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा गण्डकी प्रदेशको मूख्य प्रवेशद्धार मध्येको नवलपुर जिल्ला मात्र नभइ प्रदेशकै सबै जिल्लाको आर्थिक अवस्था खस्कदो रहेको भन्दै निर्माण कम्पनी चाइना स्टेट ईन्जिनियरिङलाई खरायोको गतिमा निर्माण प्रकृया अघि बढाउन दवाव दिन सरकारसँग माग गरिएको छ ।
सडकको दुरावस्थाका कारण औद्योगिक कच्चापदार्थ तथा कृषिजन्य सबै मालसमानको मुल्य अत्याधिक बढेको र त्यसको असर आम सर्वसाधरणलाई परेको भन्दै यसतर्फ ध्यान दिन भनिएको छ ।प्रमुखजिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा सडक निर्माणको कामलाई बेवास्ता गर्ने, आलटाल गर्ने, ढिलाई गर्ने लगायतका कामहरु भएमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश र जिल्ला नगर उद्योग बाणिज्य संघ नवलपुरले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्न समेत बाध्य हुने चेतावनी दिइएको छ ।
साथै विज्ञेप्तीमा प्रदेशको ऐतिहाँसिक धार्मिक तीर्थस्थल त्रिवेणीधाम जानको लागि दुम्कीबास त्रिवेणीसडक उपुक्त हुने भएकोले यसको निर्माणका लागि तत्काल कार्यप्रारम्भ गर्न समेत अनुरोध गरिएको छ । यसैगरि त्रिवेणीमा भएको भन्सार कार्यालयमा जनशक्तिको अभाव भएकोले त्यसलाई ब्यवस्थित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अमृत भट्टचन सहितको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले आफु जिल्लाका समस्याहरुसँग जानकार रहेको भन्दै यसको दिर्घकालिन रुपमा समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय समक्ष जानकारी गराउने बताउनुभयो ।