
-बद्रीनाथ गैरे
न बत्ति बलेको छ, न चुलो जलेको छ
चकमन्न त्यो गाउँमा खुशी ढलेको छ
रमाइला चाडवाड के हुन्, थाहै पाएन
त्यो पल्लो गाउँमा कहिल्यै दशैं आएन !
बर्षौं कट्छ एकथान टालेका फरियाले
दुःख बिसाउने ठाउँ भेटेनन् ति भरियाले
मिठो मसिनो त परै पेटभर खानै खाएन
त्यो पल्लो गाउँमा कहिल्यै दशैं आएन !!
न काटिन्छ खसी,न आउँछन् कोही पाहुना
साहुको ऋण हरेक साल बढ्छ दुई गुना
कति बर्षात् रूझेरै गए, चुहिने छाना छाएन
त्यो पल्लो गाउँमा कहिल्यै दशैं आएन !!!
न स्कुल देखेका छन्, न सीप सिकेका छन्
छाक टार्न एकमाना दानामा बिकेका छन्
विभेदको त्यो घाउमा कसैले मलम लाएन
त्यो पल्लो गाउँमा कहिल्यै दशैं आएन !!!!
छेउकै अर्को गाउँमा तिमी नाच्छौ खुशीले
हरेक पल मोजमस्तीमा बाँच्छौ बेहोसीले
आफ्नो स्वार्थ बाहेक कसैले केही चाहेन
त्यो पल्लो गाउँमा कहिल्यै दशैं आएन !!!!!
(गैरे नेपाल सरकारका सहसचिव हुनुहुन्छ )