
काठमाडौं । लमजुङमा पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी मीनबहादुर घलेका अनुसार क्व्होलासोथार गाउँपालिका-३ बगुममा आज बिहान पहिरोले तीनवटा घर बगाएको हो।
बिहान ४ बजे माथिबाट खसेको पहिरोले स्थानीय रूद्रमनी गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर बगाएको डिएसपी घलेले जानकारी दिए।
घर बगाउँदा चार जना बेपत्ता भएको प्रारम्भिक जानकारी छ।अहिले बेपत्ताहरूको खोजी र उद्धार गर्न डिएसपी घलेकै कमाण्डमा प्रहरीको टोली घटनास्थल जाँदै छ।नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि जाँदै छ। प्रहरी अस्थायी पोस्ट मालिङको टोली घटनास्थल पुगिसकेको बताइएको छ।