
चितवन । उपत्यका बाहिर सबैभन्दा धेरै प्रसुती सेवा दिंदै आएको भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिक रुपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीका अनुसार एक करोड रुपैयाँ लागतमा नयाँ युनिट निर्माण गरिएको हो । हाल रहेको प्रसुती भवनको नजिकै नयाँ युनिट थप गरिएको छ ।
प्रसुतीका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलाहरुलाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक सँगै रहने व्यवस्था गरिएको छ । प्रसुतीको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकहरुको प्राक्टिसलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा.तिवारीले बताउनुभयो । अभिभावकसँगै प्रत्येक स्वीट रुममा एक जना नर्स रहने व्यवस्था गरिएको छ ।
डा. तिवारीले भन्नुभयो “यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याईएको बताउँदै डा. तिवारीले भन्नुभयो “प्रसव पीडा पति वा अभिभावकलाई शेयर हुन नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोग सहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।”
उहाँका अनुसार प्रसुती सेवाका लागि भर्ना भएका गर्भवती महिलाहरुको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुपममा लगिने छ । स्वीट रुममा प्रसुती हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुने डा.तिवारीले बताउनुभयो । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको डा। तिवारीको भनाई छ ।
विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनु पर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको भन्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकाहरुलाई यहाँ ल्याउँछौं ।”