
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन् ।समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले ‘प्रचण्ड’ सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैँ ढल्ने दाबी गरे ।
उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’
सरकार माओवादी नीतिमा ‘प्रचण्ड’ पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे ।उनले भने, ‘काँग्रेस ‘प्रचण्ड’पथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरूले सक्रिय भएर आतङ्ककारी गतिविधि गरिरहेको आरोप लगाए । चिहान बाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्त्व सलबलाएको ओलीको टिप्पणी छ ।
अध्यक्ष ओलीले भने, ‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरू सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन् ।’