गैँडाकोट । नवलपुरको गैंडाकोट इङ्गलिस स्कुलकी छात्रा श्रृष्मा सिग्देलले सर्वगुणीय विद्यार्थी अवार्ड प्राप्त गर्न सफल भएकी छन् । क्वेष्ट नेपालको आयोजना तथा स्मलहेभन मोडल स्कुलको संयोजनमा चितवनको सौरहामा मंसिर ८,९ र १० गते सम्पन्न विद्यार्थी गुणीय चक्र सत्रौ राष्ट्रिय सम्मेलनमा गैंडाकोट इङ्गलिस स्कुलकी छात्रा सिग्देललाई सर्वगुणीय विद्यार्थी अवार्ड प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ८ मा अध्ययनरत श्रष्माले देशभरबार सहभागी भएका ९२ जना प्रतिष्पर्धीसँगै प्रतियोगितामा भाग लिई विभिन्न चरणका परिक्षाहरु पास गर्दै “मनसा मेमोरियल सर्वगुणीय विद्यार्थी अवार्ड” प्राप्त गर्न सफल भएको स्कुलका प्रचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । सो अवार्डबाट गैँडाकोट इङ्गलिस स्कुलकी छात्रा सिग्देलसँगै अन्य विभिन्न विद्यालयका ४ जना विद्यार्थीहरु सम्मानित भएको अर्यालले जानकारी दिनुभयो ।
उहाँले स्कुलका छात्रा श्रृष्माले पाएको अवार्डले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि विद्यालयले अवलमवन गरेको निति तथा कार्यक्रमहरुको सफलताको कडीको रुपमा लिएको बताउनुभयो ।“मनसा मेमोरियल सर्वगुणीय विद्यार्थी अवार्ड” विद्यार्थी गुणीय चक्रका प्रमुख संरक्षक प्राध्यापक दिनेश चापागाइले आफ्नो दिवंगत छोरी मनसाको स्मृतिमा स्थापित कोष हो । सर्वगुणीय विद्यार्थी अवार्डको छनौट गर्दा विभिन्न चरणमा बैज्ञानिक विधीको प्रयोग गर्ने गरिएको छ ।