
चितवन। १४औँ संस्करणको चितवन महोत्सव भएको नौ महिना वितिसक्यो । महोत्सव सकिएको ३५ दिनभित्र आम्दानी र खर्च सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य संघ–चितवनले अझै हिसाबकिताब सार्वजनिक गर्न सकेको छैन । महोत्सवबाट उठेको रकम नेतृत्वले हिनामिना गरेको आशङ्का गरिएको छ ।
२०७९ पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवन महोत्सव आयोजना गरिएको थियो । नेतृत्व नै परिवर्तन हुने बेलासम्म पनि हिसाबकिताब सार्वजनिक नहुँदा केही कार्यसमिति सदस्यले आर्थिक अनियमितताको आशङ्का गरेका छन् । पटकपटक ताकेता गर्दा पनि नेतृत्वले महोत्सवको आम्दानी र खर्च सार्वजनिक गर्न तत्परता नदेखाएको उनीहरु बताउँछन् ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले हरेक कार्यसमिति बैठकमा अडिट रिपोर्टको ‘बुक क्लोज भइसक्यो’ भन्दै आएका छन् । विभिन्न उपसमितिको नेतृत्व गरेका पदाधिकारीले नै आम्दानी र खर्चको हिसाबकिताब नपाएको कार्यसमितिका एक सदस्यले बताए । ‘सिडिओसँग महोत्सव गर्न अनुमति लिँदा तीन महिनाभित्र हिसाबकिताब सार्वजनिक गर्छौं भनिएको थियो, तर अहिलेसम्म नेतृत्वले हिसाबकिताब देखाउन सकेको छैन’, उनले भने, ‘बुक क्लोज भइसक्यो भन्ने कुरामात्रै आउँछ, अरु आउँदैन ।’
केहिसमय अघि बसेको कार्यसमिति बैठकमा पनि समितिका सदस्यले हिसाबकिताब सार्वजनिक गर्न माग गरेका थिए । नेतृत्वले ‘बुक क्लोज’ भइसकेर सार्वजनिक गर्ने तयारी गरिरहेको भन्ने पुरानै आश्वासन दियो । आगामी पुस २३ गते संघको अधिवेशन हुँदैछ । आर्थिक अनियमितताको आशङ्का गरिएकाले हरेक खर्चको विवरण आफूहरुले माग गर्ने उनले बताए । महोत्सवबाट कमसेकम दुई करोड रूपैयाँ मुनाफा भएको उनको अनुमान छ ।
संघका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव सकिएको नौ महिनासम्म पनि आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक नहुनु गलत भएको बताए । ३५ दिनभित्र हिसाब फरफार गर्नुपर्नेमा नौ महिना भइसक्दा पनि सार्वजनिक नहुनु ठीक नभएको उनले बताए । ‘३५ दिनभित्रै हिसाब फरफार हुनुपथ्र्यो । हुन नसक्नु राम्रो कुरा होइन’, उनले भने, ‘अझै पनि जतिसक्दो छिटो आए हुन्थ्यो । पूर्वअध्यक्षको हैसियतले भन्दा अहिले ठीक भइरहेको छैन ।’
हिसाबकिताब सार्वजनिक गर्न ढिलाइ हुँदा संस्थाप्रति नै औँला ठडिने वातावरण बनेको उनले बताए । हिसाब छिटो सार्वजनिक गर्न आफूले ताकेता गरिरहेको भन्दै उनले आर्थिक वर्ष नै परिवर्तन भइसक्दा पनि त्यो नहुनु गलत भएको दोहो¥याए ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले दसैँअगाडि नै महोत्सवको हिसाबकिताब सार्वजनिक हुने बताएका थिए । ‘अडिट भइसकेको छ । सबै ठाउँमा बुझाई सकिएको छ’, उनको भनाई थियो , ‘अब आउने बुधबार या बिहीबारतिर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनेका छौँ ।’ प्रायोजक, प्रदेश सरकारलगायतका ठाउँबाट प्राप्त हुनुपर्ने रकम प्राप्त नहुँदा हिसाब सार्वजनिक गर्न ढिलो भएको उनले बताए ।