×

नवलपुर । आज मधेसी र थारु समुदायका महिलाले जितिया पर्व सुरु भएको छ । तीन दिनसम्म मनाउने सो पर्व शुक्रबारदेखि सुरु भएको हो।यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।

पर्वको पहिलो दिन सप्तमी तिथिमा नहा, खा (नुहाएर खानु)  विधिबाट पर्व सुरु भएको हो । व्रतालु नारीहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गरेका छन्।

पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ । जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान् जितमाहनको कथा सुन्ने गरिन्छ ।

अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ्य दिएर व्रत समाप्त गरिन्छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्ववसमेत रहेको जानकारहरूको भनाइ छ ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमतुवाहन नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।

मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ। जितिया पर्वको अवसरमा नवलपुर र चितवनमा पनि विभिन्न कार्यक्रम संचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया