×

गैँडाकोट । आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै गैँडाकोट नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय तह कर्मचारी संघर्ष समिति गैँडाकोट नगरपालिकाका संयोजक सुनिल श्रेष्ठका अनुसार आज (मंगलबार) नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् ।

विहान १० वजे कार्यालय पुगेका  कर्मचारीहरुले नगरपालिकाको मुल गेटमा आफ्ना मागहरु समेटिएको कालो ब्यानर समेत टाँसेका छन् । स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ।

त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन्।

माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सहभागी हुन संघर्ष समितिले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ। त्यसैगरी असोज १७ गते बुधबार काठमाडौंमा वृहत् प्रदर्शन गर्ने, असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संघर्ष समिति दीपक संयोजक गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया