×

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाल शिक्षक महासंघसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सोमबार सानेपामा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले शिक्षकहरूसँग गरिएको सहमतिबाट सरकार पछि नहट्ने बताए।

‘विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भइसकेको छ। नेपाल शिक्षक महासंघसँग गरिएका सम्झौताअनुसार शिक्षा विधेयक संशोधन गर्ने हो,’ खड्काले भने, ‘शिक्षकहरूसँगको सहमति कार्यान्वयनमा आउँछ, दायाँबायाँ हुन्न।’नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेकोले महासंघ र विभिन्न शिक्षक संघसंगठनहरूका अध्यक्षहरू तथा सरकारी टोलीबीच वार्ता गरिएको उनको भनाइ छ।

‘संविधानसँग नमिल्ने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक शिक्षकहरूका सबै माग पूरा हुन्छन् भनेका छौं,’ उनले भने, ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता गरी हदैसम्मको सहमति गरिएको छ।’शिक्षक महासंघसँग सरकारले सहमति गरे पनि राहत शिक्षक, बाल शिक्षा शिक्षक लगायतले आन्दोलन जारी राखेको उनले बताए। ‘सहमति गर्दा उहाँहरूका प्रतिनिधि पनि हुनुहुन्थ्यो, सबैको सहमतिमा हस्ताक्षर गरिएको हो,’ उनले भने।

तपाईको प्रतिक्रिया