×

दाङ । शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो ।छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।

घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

डीएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए । सो क्रममा टेकबहादुरले भेटेका लामिछाने, वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई खुकुरी  प्रहार गरेको उनले बताए । उनका अनुसार घाइते दुई जना टेकबहादुरको छिमेकी भएको खुलेको छ ।

‘हत्याको कारण कुनै रिसिबी नभएर देउता चढेको भन्दै अन्धाधुन्ध प्रहार गरेको देखिन्छ’, उनी भन्छन्, ‘घटनाको अनुन्धानमै छौं । बाँकी कुरा पछि आउँला ।’जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लका अनुसार टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको छ । त्यसपछि मात्र केही कुरा बताउन सकिने बताए ।स्थानीय बासिन्दाका अनुसार टेकबहादुर केही महिनाअघि भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।

तपाईको प्रतिक्रिया