×

काठमाण्डौं । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डित ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८०” बाट पुरस्कृत हुनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिकोत्सव समारोहमा उहाँलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकार प्रवक्ता रेखा शर्माले पण्डितलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । प्रेस काउन्सिल नेपालले पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै पण्डितलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु।१० हजार र प्रमाणपत्र रहेको छ ।

सन् २००७ मा पहिलोपटक चितवनको कालिका एफएमबाट पत्रकारिता शुरु गर्नुभएका पण्डितले चितवनका विभिन्न सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । रेडियो त्रिवेणी, क्रिष्टल टेलिभिजन, रेडियो कार्यक्रम “ब्रेक थ्रु“ लगायतमा उहाँले काम गरिसक्नु भएको छ ।

पण्डित हाल अनलाइनखबरको चितवन संवाददाता हुनुहुन्छ भने ‘ब्रेक थ्रु’ साप्ताहिक प्रकाशन गर्दै आउनु भएको छ ।

पुरस्कार प्राप्त गरेपछि बोल्दै उहाँले पत्रकारिताको कर्ममा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो “मलाई पुरस्कार प्राप्त हुने सूचना पाएदेखि विभित्र माध्यमबाट शुभकामना दिनुहुने, बधाई दिनुहुने तपाईं सबै–सबैप्रति म कृतज्ञ छु, धेरै धन्यवाद दिन चाहान्छु ।” पुरस्कारले जीवनमा सत्कर्ममा लाग्न अझै बढी जिम्मेवार बनाएको पण्डितले बताउनुभयो ।

अध्यक्ष पण्डितकै नेतृत्वमा प्रेस चौतारीको नेपालमै पहिलो घर चितवनमा निर्माण भईरहेको छ । पत्रकारहरुको क्षमता अभिबृद्धि र संस्थागत विकासका लागि समेत यो भवन सार्थक हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया