
गैँडाकोट। नवलपुरकी एक महिलाको स्क्रबटाईफसका कारण चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १७ की ४८ वर्षिया महिला रहेकी छिन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो । स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएकी ती महिला आईतबार उपचारका लागि चितवन मेडिकल कलेज आएकी आएकी थिइन । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिनुभयो ।
यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाईबाट मान्छेमा सर्दछ । यो किर्ना झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरानमा देखिने गर्दछ । केसीका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन । उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अंगकहरुले काम गर्न छाड्नु यो रोगका लक्ष्यणहरु हुन । समयमा उपचार नगराएमा श्वासस प्रश्वासमा स्मस्या आई बिरामीको मृत्यु समेत हुने गर्दछ ।
यो रोगबाट बाँच्नका लागि खेतवारीमा काम गर्दा वनजंगल वा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने वा वस्ने जस्ता कार्य गर्नुपर्दछ ।