धनगढी । मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ।गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीय दिलबहादुर थापाले जानकारी दिए ।उनका अनुसार रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो।

यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। गोठ भत्किँदा उनका ४० भेडा पुरिएका छन्।मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा केही घर भत्किएका छन् भने दर्जनौं घर चर्किएका छन्।

बाजुराकै बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका, हिमाली गाउँपालिकामा दर्जनौं घर चर्किएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार क्षतिको विस्तृत विवरण आउने क्रम बाँकी छ। ठाउँठाउँमा प्रहरी टोली खटाइएको छ ।बझाङका जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका केही घरहरूमा आंशिक क्षति भएको छ।सदरमुकामका केही सरकारी कार्यालयका भवन पनि चर्किएका छन्।

जिल्ला अस्पताल, सशस्त्र प्रहरी बलको क्याम्प, वडा प्रहरी कार्यालय, जिल्ला कारागारलगायत सरकारी कार्यालयका भवन चर्किएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो।

तपाईको प्रतिक्रिया