पुष्पा रिजाल

गैँडाकाेट ।  नेपालका प्रायः पूर्वप्राथमिक विद्यालयहरूमा अझैसम्म पनि स्कूल तोकेकै दिनबाट लेख्न सिकाउन शुरू गर्ने परम्परा छ । यो गलत शुरुवात हो किनभने अक्षर लेख्न शुरू गर्नु नै सबै कुरा होइन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा पनि लेख्नलाई चाँडै सिकाउनुपर्छ भन्ने कुरा कतै उल्लेख छैन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रमको शुरूमै जीवनोपयोगी एवं स्वाबलम्बी सीपहरू हासिल गराउनु यस पाठ्यक्रमको जोड रहेको छ भन्ने उल्लेख छ । त्यसैगरी बालबालिकामा आफूप्रतिको आत्मविश्वास जगाउनु, परिवर्तित समाज र अन्य व्यक्तिहरूप्रति सकारात्मक सोचको विकास गर्नु, चुनौती, बाधा र सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पु¥याउनुका साथै सामाजिक र व्यवहारिक मूल्य मान्यताको आधारमा व्यवहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक बन्नका लागि आधारशीला खडा गर्नुु हो । साथै, यस उमेर समूहका विविध किसिमका मनोरञ्जनात्मक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट सर्वांगीण विकास गरी प्राथमिक विद्यालयका लागि तयार पार्नुपर्छ भनी उल्लेख गरिएको छ ।
तर नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा उल्लेख भएका व्यावहारिक सीप कसरी सिकाउने भन्ने बारेमा उल्लेख गरिएको छैन भने मन्टेश्वरी शिक्षा प्रणालीबाट ती उद्देश्य पूरा गर्न सकिन्छ । मन्टेश्वरी सिकाइ विधिअन्तर्गत प्रयोगशालामा राखेर प्रयोगात्मक अभ्यास गराउने, विभिन्न खेलहरूबाट स्मरण शक्ति बढाउने, जुन पाठको बारेमा पढाइँदैछ त्यससँग सम्बन्धित स्थलगत अवलोकनमार्फत् सम्बन्धित विषय वा स्थानको ज्ञान दिने गरिन्छ । उदाहरणका लागि जनावरहरूका बारेमा पढाउँदा चिडियाघरमा भ्रमण गराउने, जुन वस्तुको बारेमा पढाइँदैछ त्यस वस्तुलाई नै कक्षा कोठामा ल्याएर देखाउने मुभी कक्षाहरु गराउने आर्ट एन्ड क्राफ्ट आदिबाट विषयवस्तु सिकाउने आदि गरिन्छ । प्रयोगात्मक एवं व्यवहारिक सिकाइबाट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्ररी बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रमको निराकरण हुने, सकारात्मक सोच अभिबृद्धि हुने, सिर्जनशीलता बढ्ने चुनौतीको सामना गर्न सक्ने जस्ता सीप एवं क्षमता हासिल हुन्छ भनी मन्टेश्वरी सिद्धान्तले उल्लेख गरेको छ । दुईदेखि छ वर्षसम्मको उमेरमा मानिसको स्वभाव कस्तो हुने भन्ने ९० प्रतिशत निर्धारित भइसक्ने हुँदा उचित समयमा बालबालिकालाई त्यस किसिमको वातावरण बनाइदिनु जरूरी छ । नत्र मन्टेश्वरीको सिद्धान्तले निर्धारण गरेका लक्षहरू हासिल गर्न बालबालिकाहरू समर्थवान् हुँदैनन् ।

व्यवहारिक ज्ञान तथा सीपयुक्त शिक्षण पद्धति अपनाउन विद्यालयको वातावरण फरक किसिमले तयार गर्नुपर्दछ, जस्तै : दुई वर्षका बालबालिकाको कक्षाकोठामा कापी वा पेन्सिलको आवश्यकता पर्दैन । त्यस उमेरका बालबालिकाको कक्षाकोठामा प्रयोगशालाका सामग्रीहरू, सीप विकास गर्ने सामग्री, आँखा र हातको गतविधिको तालमेल हुने गरी अभ्यास गराउन आवश्यक पर्ने सामग्री, सिधा अगाडि हिँड्न सक्ने अभ्यास, पालो पर्खिने बानी, समूहमा काम गर्ने बानीका लागि आवश्यक सामग्री, अरुको कुरा सुनेर आफ्नो कुरा बताउन सक्ने सीप, विभिन्न अवस्था बुझाउने रंंगीन चित्रहरू, बौद्धिक खेलका सामग्रीहरू, मनोरञ्जनपूर्ण खेल सिर्जनात्मक एवं शारीरिक खेलका लागि सामग्रीहरू आवश्यक पर्दछन् ।

यस्ता सामग्रीहरूबारे राम्रो जानकारी लिएका एवं बालबालिकालाई कुन उमेरमा कस्तो खालको सीप सिकाउनु उपयुक्त हुन्छ भन्ने ज्ञान पाएका शिक्षकहरूले मात्र मन्टेश्वरीका सामग्रीको प्रयोग गरेर पढाउन सक्छन् । मन्टेश्वरीका तालिम पाएका शिक्षकहरूले समूहमा सामाजिक भावनाको विकास गराउन, आवश्यक परेको अवस्थामा म गर्न सक्छु भनी स्वतः अग्रसर हुने ऊर्जा प्रदान गराउन सक्षम हुन्छन् । यस उमेरमा सिकेको सामूहिक भावनाको विकास हुँदै जाँदा भविष्यमा त्यस्ता मानिसहरूमा उदार र सहयोगी भावनाको विकास हुँदै जान्छ र समाजको सभ्यतामा विकास हुने आशा राख्न सकिन्छ ।

साथै, दुईदेखि छ वर्ष उमेर समूहका बालबालिकालाई अक्षर चिनाउन पढाउन हतार नगरी स्वस्थ रहने बानी, पालो कुर्ने बानी, आफ्नो काम आफैं गर्ने बानी, सोधेको कुरामा उचित जवाफ दिने, सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने, अरुका सामान प्रयोग गर्नुअघि सोधेर अनुमति लिने, समस्या पर्दा नआत्तिने, अनावश्यक कुरामा नडराउने,आफ्नो काम आफै गर्ने, इमानदार हुने, अरुलाई पनि असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार गर्न मन पराउने, अनुशासित हुने जस्ता सीपमूलक शिक्षा दिनु आवश्यक हुन्छ ।

यसरी, व्यावहारिक ज्ञान दिदै परिपक्व बनाउँदै लेख्न र पढ्न सिकाउँदा सानो उमेरदेखि नै बालबालिकाको सर्वाङ्गीण विकास हुनथाल्छ । यस प्रकारको पूर्ण शिक्षा दिलाउन तालिमप्राप्त शिक्षकका साथै विभिन्न शैक्षिक तथा खेल सामग्रीको आवश्यकता पर्ने हुँदा विद्यालयले त्यसको चाँजोपाँजो मिलाउनुपर्दछ । साथै, सम्बन्धित अभिभावकले पनि सम्भव भएसम्म घरमा शैक्षिक तथा मनोरञ्जनपूर्ण वातावरण निर्माण गरिदिन आवश्यक हुन्छ किनकि बालबालिकाले घरमा पनि धेरै समय बिताउँछन् । तसर्थ, घरमा पनि स्वच्छ र भेदभावरहित, सहयोगी एवं स्वस्थ वातावरण पाए भने मात्र बालबालिकामा सकारात्मक विकास हुनसक्छ ।

भनिन्छ झगडालु वातावरणमा हुर्किएका बालकले बिद्रोह गर्न सिक्छ, सहयोगी वातावारणमा हुर्केको बालकले समाज सेवा गर्न सिक्छ । मन्टेश्वरी सिकाइ प्रणालीले बालबालिकाको सर्वाङ्गीण विकासलाई जोड दिएको छ । यसअन्तर्गत सिकाइने धेरै प्रकारका सीपहरूमध्ये लेख्न र पढ्न सिकाउने सीप पनि पर्दछ तर त्यो मात्रै सबै कुरा होइन । जसरी हरेक मानिसलाई समाजमा मिलेर बस्ने, सहयोग गर्ने, सन्तुलित भोजन गर्ने, सफा रहने ज्ञानको आवश्यकता पर्छ, ठीक त्यसैगरी, बालबालिकामा लेख्ने र पढ्ने सीपहरूको पनि आवश्यकता पर्दछ, जसबाट ऊ आफ्ना कुरा राख्नु पर्ने अवस्थामा लेखेर ब्यक्त गर्न र अरुले लेखेको वा संकेत गरेको कुरालाई बुझ्न सकोस् । त्यसकारण पढ्न लेख्न सिक्नु जीवनमा जति आवश्यक छ अन्य कुराको सही ज्ञान पाउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

तसर्थ, मन्टेश्वरी सिकाइ प्रणाली अबलम्बन गर्ने विद्यालयबाट प्राप्त हुने शिक्षा एक चेतनशील मानिसका लागि ज्यादै उपयोगी हुन्छ । तर मन्टेश्वरी नाम राखेर खुलेका सबै विद्यालयहरूबाट उल्लिखित व्यवहारिक शिक्षा एवं ज्ञान प्राप्त हुन्छ भन्ने छैन । मूल कुरा त त्यो विद्यालयले मन्टेश्वरी सिकाइ विधिलाई बुझेको छ कि छैन, त्यसलाई व्यवहारमा कसरी अबलम्बन गरिरहेको छ, त्यहाँका शिक्षकहरूले मन्टेश्वरी सिकाइ प्रक्रियाका बारेमा दक्षता हासिल गरेका छन् कि छैनन् भन्ने हो । कुनै पनि मन्टेश्वरी नामको विद्यालयमा आफ्ना नानीहरूलाई राख्नुअघि सम्बन्धित अभिभावकले यी कुरामा ध्यान पु¥याउन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया