
काठमाडौँ । आगामी माघ ५ प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन हुँदैछ ।संसद् सचिवालयले माघ ३ गते सभामुखको निर्वाचनको कार्यकतालिका सार्वजनिक गर्नेछ । अर्थात् सभामुखको उम्मेदवार माघ ३ गते नै तय भइसक्नुपर्नेछ ।नेकपा एमाले नेकपा माओवादी केन्द्रबीच सरकार गठनका बेला भएको सहमतिअनुसार सभामुख एमालेबाट बन्नेछन् ।
सभामुखको उम्मेदवारबारे एमालेमा औपचारिक रूपमा छलफल भइसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवारबारे छलफल गरिरहेको नेताहरूको भनाइ छ ।सभामुख पद ‘डिजर्ब’ गर्ने नेताबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । एमालेमा गुरुङसँगै छविलाल विश्वकर्मा पनि सभामुखका उम्मेदवार हुन् ।
प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्षमध्ये विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।अर्का उपाध्यक्ष सुवास नेम्वाङले आफू पटक पटक सभामुख भइसकेकोले अब पनि ‘सोही पदमा जानु पदको लोभी हुनु हो’ भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिइरहेका छन् । उनले आफू सभामुख नबन्ने प्रस्ट्याइसकेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवारबारे छलफल गरिरहेको बताए ।नेम्वाङले राष्ट्रपतिमा दाबी गरिरहेका छन् ।
अन्य उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा चुनाव नै लडेनन् । एमालेका पदाधिकारीमा वरिष्ठताका आधारमा हेर्दा महासचिव शङ्कर पोखरेल पराजित भए ।उपाध्यक्षपछि निर्वाचन जितेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुन् । उपमहासचिव प्रदीप ज्ञवाली पराजित भए भने अर्का उपमहासचिव विष्णु रिमालले चुनाव नै लडेनन् ।
यसरी हेर्दा एमालेमा सभामुख गुरुङ बन्नुपर्ने नेताहरू बताउँछन् । उनले पार्टीले निर्णय गरे आफू सभामुख बन्न तयार रहेको र कुशलतापूर्व जिम्मेवारी निर्वाह गर्ने निकटस्थलाई बताइरहेका छन् ।गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका गुरुङ नेकपा माओवादीका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित भए ।
वरिष्ठता र अनुभवका आधारमा गुरुङले आफूलाई सभामुखको उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेका छन् ।“सभामुखबारे पार्टीमा औपचारिक छलफल त भएको छैन । सिनियरको हिसाबले हेर्दा उहाँ नै सभामुख बन्नुपर्ने हो,” एमालेका एक पदाधिकारी भन्छन् ।
सभामुखमा सचिव विश्वकर्माको चर्चा पनि भइरहेको छ । एमालेमा एक मात्रै निर्वाचित दलित सांसद भएकाले सभामुख बनाउनुपर्ने मत छ ।विश्वकर्मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दिएकाले शङ्काको अवस्था भने पैदा भएको ती पदाधिकारीको भनाइ छ ।
प्रशासनबाट