काठमाण्डौं । आम मानिसको धारणा हुन्छ कि जति सक्दो पातलो सिरानी प्रयोग गर्नुपर्छ जुन धारणा एक पक्षीय हो । सिरानी न त धेरै मोटो राम्रो हुन्छ न त धेरै पातलो नै टाउको र मेरुदण्डको एलाइन्मेन्ट जति मोटो सिरानीले मिल्छ, त्यो नै सिरानीको उपयुक्त मोटाइ हो ।

बजारमा फाइबर, कपास आदि थरीथरीका सामग्रीबाट बनेका सिरानी पाइन्छन् । कुन सामग्रीबाट बनेको सिरानी स्वस्थकर कुन अस्वस्थकर कसरी छुट्याउने रु टाउको जस्तो संवेदनशील अंगमुनि राखिने भएकोले यसका लागि दुईवटा विषय विचारणीय हुन्छन् । एउटा नरम र अर्को लचकता आफूलाई सहज लाग्ने स्तरको नरम वस्तुबाट बनेको सिरानी चयन गर्नुपर्छ।

अर्को भनेको सिरानी बनाउँदा प्रयोग भएको वस्तुको लचकता हो। सिरानीको लचकता त्यस स्तरसम्मको मात्र हुनुपर्छ, जतिले टाउको र मेरुदण्डको एलाइन्मेन्ट बिग्रदैन । हेर्दा सिरानी मोटो भए पनि टाउकाको भारले पातलो बन्ने कार्य त्यही लचकताले गरिरहेको हुन्छ । यस्तो वेलामा लचकता झन् विचारणीय बन्न पुग्छ। टाउको र मेरुदण्डलाई समान रेखामा राख्न सघाउने सिरानीलाई उपयुक्त मोटाइको सिरानी मान्न सकिन्छ ।

द तोहोकु जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनको सन् २०१४ जुलाई अंकमा मिं याँङ् जीयोन एण्ड समूहद्वारा प्रकाशित लेखका अनुसार सिरानीको आकार र बनोट सामग्री राम्रो सिरानीको महत्वपूर्ण पक्ष हुन् जसले गर्धनको वक्रता, सिरानीको तापक्रम र सिरानी प्रयोगको सहजतालाई निर्धारण गर्दछ । २१ देखि ३० वर्ष उमेर समूहका २० जनामा गरिएको यस अध्ययनमा मुख्य फिदरको सिरानी, स्पोञ्जको सिरानी र अर्थोपेडिक सिरानी मध्ये कुन राम्रो भन्ने तुलना गरिएको थियो। जसमा विशेष विधिबाट बनाइएको अर्थोपेडिक सिरानी उत्तम देखिएको थियो ।

मष्तिस्क र मेरुदण्डबाट हुनसक्ने अल्प र दीर्घकालीन समस्याहरूबाट बच्न सिरानीको प्रयोगमा सबै सचेत हुनु जरुरी देखिन्छ । दैनिक रूपमा सिरानीको प्रयोग गर्नु सामान्य झैं लागे पनि यसको प्रभाव शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रत्यक्ष रूपमा परिरहेको हुन्छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया