काठमाण्डौ ।  यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो ।

अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।

सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले काठमाण्डौ उपत्यकाका किसान खेतमा पानी भरिएपछि रोपाइँमा लागेका हुन् । रोपाइँ सुरु भए पनि धानखेतीका लागि नभइ नहुने रासायनिक मलको भने अभाव छ ।

समयमै पानी परेकाले यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभएपछि उत्पादन आधा घट्नेमा चिन्तित छन् । सरकारले यो महिनाको अन्त्यसम्ममा मल सहज हुने दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया