चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय जना विद्यार्थी इजरायल जानका लागि छानिएका छन् । ‘एग्रिकल्चर वर्क–स्टडी’ कार्यक्रम अन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनौट भएका हुन् ।विद्यार्थीलाई इजरायल पठाउनका लागि विश्वविद्यालयका संकाय तथा आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट आवेदन माग गरिएको थियो ।

‘एग्रिकल्चर वर्क–स्टडी’ कार्यक्रम सहभागी हुन २ सय ७३ जना विद्यार्थीहरुले आवेदन दिएका थिए । त्यस मध्ये १ सय ६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनौट भएको विश्वविद्यालयकी रजिष्ट्रार एवं विद्यार्थी छनौट समितिकी संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिईन् । नेपालका लागि इजरायलका राजदुत हनान गोडर र इजरायलका लागि नेपालका राजदुत डा। कान्ता रिजालको उपस्थितीमा विद्यार्थीको अन्तर्वार्ता भएको छ ।

दुतावासका प्रतिनिधीले विश्वविद्यालयमा आएर बिहिबार र शुक्रबार विद्यार्थीहरुको अन्तर्वार्ता लिएका हुन् । अन्तर्वार्तामा सहभागी भएका विद्यार्थीहरु मध्येबाट एक सय जना सफल र २० जना वैकल्पिक विद्यार्थीहरुको नामावली प्रकाशन गरिएको छ । इजरायल जाने विद्यार्थीहरुलाई शुभकामना दिँदै नेपालका लागि इजरायलका राजदुत हनान गोडरले इजरायल जाने विद्यार्थीले परम्परागत कृषि परम्परालाई आधुनिक कृषि प्रणालीमा लैजाने तरिका इजरायबाट सिक्ने बताए । कृषि पढेका विद्यार्थीबाट यस्तो परिवर्तन संभव भएकाले विश्वविद्यालयका विद्यार्थी लैजान लागिएको उनले बताए ।

विश्वविद्यालय स्थापना भएपछि पहिलो पटक विद्यार्थीलाई ‘एग्रिकल्चर वर्क–स्टडी’ कार्यक्रम अन्तर्गत इजरायल पठाउन लागिएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। पुण्यप्रसाद रेग्मीले बताए । विद्यार्थीहरु एघार महिना इजरायल बस्नेछन् । उनीहरुले अध्ययनसँगै कृषि अभ्यासका लागि फार्ममा काम गर्नुपर्नेछ । विद्यार्थीहरु इजरायल पठाउनका लागि विश्वविद्यालय र रामत नेगभ इन्टरनेशनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ ।

तपाईको प्रतिक्रिया