×

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा २७ वटा गैडा मरेका छन् ।प्राकृतिक र चोरी शिकारीको कारण गरेर सात महिनामा २७ गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनबाट फागुनको शुक्रबारसम्मको विवरणमा दुइवटा गैंडा मात्र चोरी शिकारीको कारणले मरेको देखिएको छ ।

२५ वटा गैंडा अन्य कारणले मरेको छ । एक आपसमा जुधेर मात्रै ७ वटा मरेका छन् । निकुञ्जको विवरणमा २०७४ सालमा विभिन्न कारणले ४३ वटा गैंडा मरेको थियो ।निकुञ्जको विवरण अनुसार ७ वटा गैंडा दलदलमा भासिएर मरेका छन् । वाढीले बगाएर, मानव निर्मित स्थानमा फसेर, वाघले आक्रमण गरेर, प्रकृतिक रुपमा वृद्ध भएर मरेका छन् । प्राकृतिक रुपमा मर्ने बाहेक जुधेर, बाघले आक्रमण गरेर मर्नेमा गैंडाको सख्या धेरै भएको कारणले पनि यस्तो घटना हुने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।

अहिलेको सख्या गत वर्षको विवरण भन्दै एकसय धेरै छ उहाले भन्नुभयो गैंडा धेरै भएपछि मृत्युको सख्यापनि वृद्धि हुन्छ । चितवन निकुञ्जमा अहिले गैंडाको सख्या ६९४ रहेको छ । यस अगाडि भएको गैंडाको तथ्याँकमा ६०५ रहेको थियो । नेपालमा गैंडाको सख्या ७५२ रहेको निकुञ्जका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

निकुञ्जको पूर्वी क्षेत्रमा बासस्थानको लागि उपयुक्त हुने घासे मैदान कम हुदै गएको र उनीहरु पश्चिम क्षेत्रमा सर्दै जादा एकै स्थानमा धेरै भएपछि जुधेर मर्न थालेको अनुमान गरेको छ । निकुञ्जका संरक्षण अधिकृत अचार्यका अनुसार भाले गैंडाको सख्या वृद्धि भएको कारण पनि एक आपसमा जुध्ने घटना बृद्धि भएको छ । जुधेर मर्नेमा तीन वटा भाले तीन वटा पोथी रहेको छ भने एउटा पोथी भालेले आक्रमणमा मरेको छ ।

भालेको सख्या कम भएरको स्थानमा जुध्ने घटना न्युन हुने गर्दछ निकुञ्जका प्रमुख अधिकृत आचार्यले भन्नुभयो ‘प्रजनन् प्रकृयामा सक्रिय हुदा कमजोर भालेलाई बलियो भालेले आक्रमण गरेर मारिदिने गर्दछ ।’ संरक्षित क्षेत्रमा कुनैपनि जनावरमा भाले भन्दा पोथी धेरै भएको हुनु पर्ने मान्यता राख्दछ । यदी भाले धेरै भएमा प्रजनन् प्रकृया वा चर्ने क्रममा कमजोरलाई बलियोले आक्रमण गर्ने खतरा भएकाले जुध्ने घटना धेरै हुने उहाले बताउनुभयो ।

गैंडाको वासस्थान वृद्धि गरेर निकुञ्जको सबै स्थानमा जान सक्ने र उपयुक्त वातावारण भएमा एक आपसमा जुध्ने घटना कमी हुन सक्छ । प्रकृतिक रुपमा वृद्ध भएर मर्ने कारणलाई रोक्न नसकिने निकुञ्जले जानकारी दिएको छ । विवरण अनुसार वुधबार मात्रै जुधेर एक र बाघले आक्रमण गरेर एउटा गैंडा मरेको थियो । गत साउन ११ र असोज ११ गते चोरी शिकारीको कारण मरेको छ । गत माघ ९ गते पूर्वपश्चिम राजमार्गको गोद्राङमा निर्माण भएको ढलमा परेर मरेको गैंडालाई भने मानवीय त्रुटीको कारण मर्न गएको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया